विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी

काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू कामविहीन भएको उल्लेख गरेका हुन् ।

कोरोनाका कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उदेश्यले पीएनसीसीले अनलाइन, फोन र विभिन्न सामाजिक सञ्जालमार्फत श्रमिकलाई परेका समस्याको विवरण सङ्कलन गरेको थियो ।

विदेशमा समस्यामा परेका ९ सय ३ मध्ये जनाले आफूलाई परेको समस्या र चाहनासहित पीएनसीसीमा सम्पर्क गरेकोमा प्राप्त विवरण अनुसार सबैभन्दा धेरै अर्थात २२ प्रतिशतले विभिन्न कारणले आफू बेरोजगार रहेको उल्लेख गरेको पीएनसीसीले जनाएको छ ।

घर फर्कन नपाउने १९ प्रतिशत
पीएनसीसीका अनुसार १९ प्रतिशले कारार सकिएर घर फर्कन नपाएको उल्लेख गरेका छन् । कोरोनाको सङ्क्रमण बढेसँगै अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अहिले करार सक्किंदा पनि घर फर्कन नपाउनेहरु समस्यामा परेको पीएनसीसीले सङ्कलन गरेको विवरणमा श्रमिकले उल्लेख गरेका छन् ।

कतिपय लकडाउनको अवधि सुरु हुने बेलामा करार सकिएर घर फर्कने तयारीमा थिए भने कतिपय कतिपयको यही अवधिमा करार सकिएको छ । काम पनि नहुनु र लामो समयसम्म घर फर्कन नपाउनुले श्रमिकहरु समस्यामा परेका छन् ।

१८ प्रतिशतले पाएनन् तलब
कोरोना सङ्क्रमण जोखिमकै बेलामा १८ प्रतिशत श्रमिकले तलब नपाएको उल्लेख गरेको पीएनसीसीले जनाएको छ । कोरोनाको कारण कम्पनी बन्द हुनु, कामबाट निकालिनुका साथै कतिपय श्रमिकले बेतलबी बिदामा राख्ने समस्या पनि बढेको पीएनसीसीले जनाएको छ । काम गर्नेले पनि तलब पाएका छैनन् ।

यस्तै संकलित विवरणमध्ये खाद्यान्न १० प्रतिशतले आफूलाई खाद्ययन्नकै समस्या भएको उल्लेख गरेका छन् भने ९ प्रतिशतले स्वास्थ्य समस्या भएको जनाएका छन् । ७ प्रतिशतले देशनिकालाको समस्या राखेका छन् भने ५ प्रतिशतले बस्नको समस्या भएको उल्लेख गरेको पीएनसीसीले जनाएको छ ।

पीएनसीसीले संकलन गरेको विवरण अनुसार लकडाउनले गर्दा अस्पताल जान नपाएर ज्यान गुमाउने समस्या पनि पाँच प्रतिशत रहेको छ । यस्तै २ प्रतिशतको आवासीय अनुमति सकिएको छ भने १ प्रतिशतको भिसा सकिएर समस्या भएको पीएनसीसीले जनाएको छ ।

रोजगारी गुमाउँदा मानसिक समस्या
सङ्कलित विवरणले काम नहुँदा विदेशमा रहेका नेपाली श्रमिकमा मानसिक समस्या देखिन थालेको देखाएको छ । एक प्रतिशले कामविहीन भएर बस्दा मानसिक समस्या सृजना भएको बताएको तथ्याँकले देखाएको छ ।

गएको २७ अप्रिलमा वैदेशिक रोजगारीका क्रममा इन्दल कुमार मण्डलले आत्महत्या गर्नुभएको थियो । परिवारले दिएको जानकारी अनुसार लकडाउनका कारण रोजगारी गुमेको र अरु साथीहरुले पनि हेलाँ गरेको तथा नेपाल फर्कन पनि नपाउँदा तनाबका कारण मण्डलले आत्महत्या गरेकोे पीएनसीसीले जनाएको छ । यस्तै गर्भवती, साना बालबच्चा भएकाहरु यतिबेला परदेशमा निकै समस्यामा परेका छन् ।

समस्यामा पर्नेहरु कतारमा धेरै
पीएनसीसीले आफूलाई भएका समस्या टिपाउनको लागि आग्रह गरेपछि विभिन्न १४ देशमा रहेका नेपालीहरुले समस्या टिपाएका र सबैभन्दा बढी अर्थात ३६।६ प्रतिशत समस्या कतारबाट प्राप्त भएका छन् । यस्तै यूएईबाट २३।४ प्रतिशत, साउदीबाट १५।५ प्रतिशत र मलेसियाबाट १३।२ प्रतिशतले समस्या टिपाएको पीएनसीसीले जनाएको छ ।

पीएनसीसीको तथ्याँकअनुसार भारत ४ प्रतिशतले माल्दिभ्सबाट १।७, कुवेतबाट १ प्रतिशत र ओमनबाट १ प्रतिशत समस्या देखिएका छन् । यस्तै बहराइन, इराक, जापान, टर्की र अमेरिकाबाट पनि विभिन्न समस्या प्राप्त भएको पीएनसीसीले जनाएको छ ।

समस्या टिपाउन आग्रह
पीएनसीसीले कोरोनाका कारण परेको समस्या टिपाउन आग्रह पनि गरेको छ । श्रमिकले विदेशबाट टिपाएका समस्या तत्काल समाधानका लागि पहल गर्ने र सम्बन्धित निकायसम्म पुर्‍याउने भएकाले आफूलाई परेको समस्या पीएसीसीलाई अनलाइन, भाइवर, फेसबुक वा फोन गरेर पनि टिपाउन सकिने पीएसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो ।

खान बस्नकै लागि समस्या भएमा पनि खाद्यान्न र बासस्थानको समेत व्यवस्था गरिरहेकाले यी देशमा जुनसुकै समस्या परेको भए पनि सम्पर्क गर्न पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले अनुरोध गर्नुभयो ।

कोरोना भाइरसका कारण खाडीका देश र मलेसियामा समस्यामा पर्ने श्रमिकका समस्या सुन्नका लागि पीएनसीसीले हटलाइन नम्बरको व्यवस्था गरेको छ । आफूलाई परेको समस्या ९८५११७४९९९ नम्बमा सिधा सम्पर्क गर्न सकिन्छ ।

यो नम्बर ह्वाट्याप र भाइबरमा पनि उपलब्ध भएकाले आफ्नो समस्या यी माध्यमबाट पनि राख्न सकिन्छ । पीएनसीसीको फेसबुक पेजमार्फत पनि आफ्नो गुनासो राख्न सकिन्छ । साथै आफ्ना समस्या ०१–५७०६१०२, ५७०५३५४, ५७०५४०२ मा पनि सम्पर्क गर्न सकिन्छ ।

साथै अनलाइनमार्फत पनि आफ्नो समस्या र विवरण भर्न सकिने व्यवस्था गरिएको छ । अनलाइनमार्फत विवरण भर्न नजानेमा वा पहुँच नभएमा फोन गरेर वा आफ्नो समस्या कागजमा लेखेर फोटो खिचेर अप्लोडसमेत गर्न सकिने अध्यक्ष कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, ‘यो विवरण सरकारी निकायसम्म पुग्ने भएकाले भोलि उद्धार र राहत लागयतका सरकारले गर्ने पहलमा समेत सहज हुन्छ, त्यसैले आफूलाई परेका समस्या टिपाउनुहोस्, अनलाइनमार्फत भर्नुहोस् ।’ उज्यालोअनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार