पढाइबाट टाढिँदै विद्यार्थी

तिलोत्तमा । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका अनुप खड्का चैतमा ८ कक्षाको परीक्षा दिएपछि घरमै छन् । अहिलेसम्म वार्षिक परीक्षाको नतिजा आएको छैन, न त उनले कक्षा उत्तीर्ण भएको खुसियाली नै मनाउन पाएका छन् । ‘घरमा बस्दा–बस्दा झ्याउ लागिसक्यो,’ उनले भने, ‘रेडियो शिक्षा कार्यक्रममा कहिलेकाहीं सुनेको भरमा हल्का पढेको छु ।’

विद्यालय जाँदाको दैनिकी परिवर्तन भएर २४ सै घण्टा खाली बस्दा दिमागमा अनेक कुरा खेल्ने गरेको उनले सुनाए । ‘७ कक्षामा प्रथम भएको थिएँ, ८ कक्षामा के भएँ हुम्ला अझैसम्म थाहा छैन,’ उनले भने । अहिले नतिजा र साथीभाइसँगको भेट मिस गरिरहेको उनले बताए । साथीभाइसँग बसेर पढ्दा प्रतिस्पर्धाको भावना पनि जागृत हुने, धेरै पढ्न मन लाग्ने उनको अनुभव छ । लामो समय बिदा भएपछि पढाइबाट ध्यान हट्दै गएको खड्काले बताए ।

छोराको राम्रो पढाइबाट प्रफुल्लित अनुपकी आमा ज्ञानीलाई कोरोना कहरले छोराछोरी बिगार्लाजस्तो लागेको छ । ‘एक्लोपनले पढाइभन्दा अन्य कुरामा बढी ध्यान गएको छ,’ उनले भनिन्, ‘प्रथम हुने छोरा हो, अहिले पढाउन दिनभरि कराउनुपर्छ ।’ छोरा अहिले मोबाइलमा भुल्ने, बाहिर डुल्ने, चौरमा खेल्न बढी आकर्षित भएको उनले बताइन् ।

अहिले सञ्चालन भइरहेको रेडियो शिक्षा कार्यक्रमप्रति बालबालिकाले ध्यान नदिएको गुनासो उनले गरिन् । ‘रेडियो शिक्षा पनि कहिलेकाहीं आउँछ,’ उनले भनिन्, ‘रेडियो नजिक बसेर पढ्न मान्दैनन् ।’ विद्यालय सञ्चालन भएका बेला करैकर र साथीभाइलाई देखेर पढ्ने बालबालिकाले अहिले किताब हेर्न ध्यान नदिने गरेको उनले सुनाइन् । ‘दूरी कायम गरी दिनको ७ जनाका दरले विद्यालयमा लगेर पढाइदिए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो,’ उनले इच्छा सुनाइन् ।

सिस्ने गाउँपालिका–३ स्थित जनता माविले ‘रेडियोमार्फत शिक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयमा ८ सय विद्यार्थी पढ्छन् । विद्यालयले सूचनामार्फत रेडियो सुनेर पढ्न अनुरोध गरे पनि कति छात्रछात्राले नियमित कक्षा लिइरहेका छन् भन्ने यकिन नरहेको प्रधानाध्यापक कलु खड्काले बताए । ‘बेलाबेलामा टोलमा गएर अभिभावक र विद्यार्थीसित भेटघाट गरिरहेका छौं,’ उनले भने, ‘विद्यालय सञ्चालन गरेजस्तो कसै गरे पनि नहुने रहेछ ।’

कोरोना महामारी कहिलेसम्म रहला भन्ने यकिन नभएकाले शिक्षा क्षेत्रमा नराम्रो असर परिरहेको उनले बताए । ‘यही अवस्था रहे विद्यार्थीको पढाइबाट ध्यान हट्छ,’ उनले भने, ‘यस्तोमा सरकारले बनाएको नियमअनुसार अघि बढ्ने हो ।’

अनुपजस्तै रूपन्देहीका गोकुल टण्डन पनि विद्यालय जान नपाएकाले छट्पटिएका छन् । ‘कति खेल्ने, कति सुत्ने रु,’ मणिग्रामस्थित शान्ति माविमा कक्षा ७ मा अध्ययनरत गोकुलले भने, ‘अब त स्कुल खुलेकै ठीक लाग्न थाल्यो ।’ पहिले–पहिले शनिबार कहिले आउला भनेर पर्खने गरेको सम्झँदै उनले अब त विद्यालय सातै दिन भइदियोस् र पढ्न पाइयोस् भन्ने लागेको बताए ।

जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिएकाले घरबाहिर निस्कन नपाएको र खेल्न नपाउँदा खल्लो महसुस गरेको उनले बताए । घरमा अभिभावकले कराएको सुन्नुभन्दा विद्यालय जान पाए साथीसँग हाँस्न पाइने उनले सुनाए । उनी अध्ययनरत विद्यालयले रेडियो र अनलाइन दुवै माध्यमबाट अध्यापन गराएको छैन ।

कोरोनाका कारण लकडाउन र निषेधाज्ञा जारी हुँदा ५ महिनादेखि शैक्षिक गतिविधि ठप्पप्रायः छ । बीचमा केही दिन खुकुलो भए पनि विद्यालय नखुल्दा विद्यार्थीको पढाइ भने अझै अन्योलमै छ । एसईई परीक्षासमेत सञ्चालन हुन नसकेपछि विद्यालयले नै स्वतः अंक दिएर विद्यार्थीलाई उत्तीर्ण गराए । क्याम्पसको पठनपाठन र परीक्षा पनि पर धकलिएका छन् । जसका कारण अभिभावक अन्योलमा छन् भने विद्यार्थी बेचैन बनेका छन् । यस्तो परिस्थितिलाई मत्थर पार्न प्रदेश ५ का केही संस्थागत विद्यालयले अनलाइन कक्षालाई निरन्तरता दिएका हुन् । तर ५० प्रतिशतभन्दा बढीको अनलाइन कक्षामा पहुँच छैन ।

विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिका लागि सिकाइ सहजीकरण निर्देशिकाको दूरशिक्षाअन्तर्गत रेडियो, टेलिभिजन, अनलाइनलगायत माध्यमबाट पठनपाठन जारी राखिए पनि यसको पहुँचमा सबै विद्यार्थी नहुँदा प्रभावकारी नभएको बुटवल बहुमुखी क्याम्पसका पूर्वप्रमुख शखिशरण सुवेदीले बताए । ‘नेपाल टेलिकमसँग समन्वय गरी हरेक परिवारको मोबाइलमा डाटा प्याकेज बनाउन जरुरी देखिन्छ,’ उनले भने, ‘अनलाइन शिक्षा लागू गर्न सके मात्र उपयोगी हुन्छ जस्तो लाग्छ ।’ सुगम र दुर्गम, सामुदायिक र निजी सबै विद्यालयका विद्यार्थीलाई वैकल्पिक शिक्षा सिकाइको अभ्यास गराउनुपर्ने उनले सुझाए । विद्यालय खुल्ने पर्खाइले विद्यार्थीलाई मार पर्ने भएकाले जहाँकहीं उपयोगी शैक्षिक क्रियाकलाप अघि सार्नुपर्ने उनको सुझाव छ ।

सरकारी तवरबाट शैक्षिक सत्रको औपचारिक सुरुवात गरिएको छैन । संक्रमणको महामारीसँगै विद्यार्थीमा असमानताको खाडल थप बढ्दै जाने निश्चित रहेको प्याब्सन रूपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बताए । ‘जिल्लामै पनि १० प्रतिशत विद्यालयले अनलाइन कक्षा चलाएका छन्,’ उनले भने, ‘विद्यार्थीले २/३ घण्टासम्म मोबाइल वा कम्प्युटर हेरेर पढ्ने विषयमा झिँझो मान्ने गरेको पाइएको छ ।’ सरकारले अनलाइन कक्षा सञ्चालन गर्न भन्नु नागरिकको आँखामा छारो हालेसरह भएको भन्दै उनले अनलाइनका लागि आवश्यक इन्टरनेट नै विद्यार्थीका घरमा नभएको र भए पनि काम नगर्ने अवस्था रहेको बताए ।

स्थानीयस्तरका गतिविधि सञ्चालन र अनुगमनको जिम्मा स्थानीय तहलाई भएकाले प्रदेशबाट सहकार्य र छलफल गरी शिक्षाका गतिविधि सञ्चालन गरी राखिएको शिक्षा विकास निर्देशनालय प्रदेश ५ का निर्देशक मनोजकुमार गैरेले बताए । ‘शिक्षासम्बन्धी नयाँ जानकारी, नीति संघीय सरकारबाटै जारी हुने भएकाले त्यसको पर्खाइमा रहनुपर्छ,’ उनले भने, ‘अहिले चलिरहेका शिक्षा सिकाइ क्रियाकलापमध्ये टोलटोलमा गई अध्यापन गर्ने विधि राम्रो छ ।’

प्रदेश ५ मा रहेका ५ हजार ७ सय ७ विद्यालयमध्ये ४ हजार ५ सय ८६ सामुदायिक विद्यालय छन् । यी विद्यालयमध्ये केहीले रेडियो माध्यमको शिक्षा र टोलटोलमा अध्यापनको क्रियाकलाप अघि बढाइरहेका छन् भने १ हजार १ सय २२ निजी विद्यालयमध्ये धेरैले अनलाइन विधि अपनाएर पढाइरहेका छन् । प्रदेशमा सामुदायिक र संस्थागतमा गरेर १ देखि १२ कक्षासम्म १२ लाख ५५ हजार १ सय ४१ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले सञ्चालन गरेका सिकाइ प्रणालीमा सबै विद्यार्थी सहभागी हुन नसकेको निर्देशक गैरेले बताए । प्रदेशभरि अनलाइनको पहुँचमा ८ सय हाराहारी विद्यालय मात्र रहेको उनले बताए । दुर्गम क्षेत्रमा अध्यापन गर्ने शिक्षकसमेत स्थानीय नहुने र बन्दाबन्दीका कारण घरबाट विद्यालयसम्म जान नपाएको स्थिति रहेकाले टोल शिक्षा, रेडियो शिक्षा कार्यक्रम पनि प्रभावकारी नभएको उनको भनाइ छ ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार