मुख्य समाचार म्याग्दी न्युज विशेष राजनिति राष्ट्रिय समाचार समाज

प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि संसद् छिर्दै वामदेव गौतम

काठमाडौँ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । मन्त्रिपरिषद्ले सोमबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई सिफारिस गर्ने प्रस्ताव गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय सभाको एक सिट फागुनदेखि खाली छ, वामदेवजीलाई सिफारिस गरौं भन्नुभयो,’ एक मन्त्रीले भने, ‘त्यसमा कसैको विरोध रहेन । प्रस्ताव पारित भयो ।’गौतमको मनोनयनका लागि सम्भवतः मंगलबार प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाउनेछ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नेछिन् अनि प्रतिनिधिसभा सदस्यमा पराजित भएको ३२ महिनापछि गौतम संसद् छिर्नेछन् ।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको समयावधि गत फागुन २१ गते सकिने भएपछि फागुन १४ गतेको नेकपा सचिवालय बैठकले गौतमलाई मनोनीत कोटाबाट राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । तर प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए । बरु खतिवडाले संसद् सदस्य नभए पनि संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि अर्थमन्त्रीमा पुनर्नियुक्ति पाए । नेकपाले वैशाख २० गते गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पछिल्लोपटक प्रधानमन्त्री ओलीले गौतमलाई डोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न आग्रह गरेका थिए । तर गौतमले आफू राष्ट्रिय सभा सदस्य बन्ने मनस्थितिमै रहेको बताएका थिए । उनलाई सचिवालयका अधिकांश सदस्यहरूको साथ पनि थियो । खतिवडालाई नै निरन्तरता दिन चाहे पनि बन्दै गरेको शक्ति सन्तुलन यही कारणले नगुमाउन प्रधानमन्त्री ओली पनि गौतमलाई नै मनोनयन कोटाबाट राष्ट्रिय सभामा पठाउने निर्णयमा पुगेका थिए । भदौ १८ को सचिवालय बैठकमा मनोनीत कोटामा गौतमलाई लैजाने जानकारी प्रधानमन्त्री ओलीले गराएका थिए । तर आइतबारसम्म पनि गौतमलाई राष्ट्रिय सभामा जानभन्दा प्रतिनिधिसभा सदस्यमै उठ्न उपयुक्त हुन्छ भन्ने सल्लाह बालुवाटारको थियो । गौतम नमानेपछि सोमबारको मन्त्रिपरिषद्ले सिफारिस गर्ने निर्णय गरेको हो ।

शपथ लिएपछि गौतम साढे ५ वर्षका लागि राष्ट्रिय सभा सदस्य बन्नेछन् । गत फागुन २१ देखि ६ वर्षको अवधि हुने भए पनि सरकारले निर्णय नगर्दा ६ महिना मनोनीत कोटाको एक सांसदबिनै राष्ट्रिय सभा सञ्चालन भयो । मनोनीत कोटामा विषय विज्ञ र सबैले मान्न सक्ने व्यक्तिलाई पठाउनुपर्ने संविधानको भावना भए पनि पार्टीले नै निर्णय गरेर पार्टीकै सक्रिय नेतालाई पठाउनु गलत भएको भन्दै नेकपाभित्र र बाहिर पनि आलोचना भइरहेको थियो ।

राष्ट्रिय सभा सदस्य भइसकेपछि गौतमले अब पुनर्गठन हुने मन्त्रिपरिषद्मा सहभागिताका लागि प्रयास गर्ने निश्चितजस्तै छ । उनले यसअघि नै सरकारमा गएर उत्कृष्ट काम देखाउने आफ्नो लक्ष्य रहेको बताइसकेका छन् । नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पारित गरेको छ । ekantipurबाट साभार

सम्बन्धित समाचार

thumbnail

होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो

वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको…

thumbnail

वीपी प्रतिष्ठानका चिकित्सकद्वारा उपकुलपति कार्यालयअघि धर्ना

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनमा उत्रिएका छन्। चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको नेतृत्वमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले दिनहुँ बिहान उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा धर्ना गरिरहेका छन्। सोसाइटीले पटक…

thumbnail

देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको…

Write a Reply or Comment