घुम्थाङ पहिरो : मृतक ११ पुगे, २० जना अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा बेपत्ता भएकामध्ये ११ को शब फेला परेको छ। पहिरोमा अझै २० स्थानीय हराइरहेका छन्। थप दुईको शब भेटिएसँगै मृतक संख्या बढेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले स्थानीय पाँच वर्षीया बालिका सरस्वती बिक र करणबहादुर श्रेष्ठ (२५) को शब भेटिएको बताए। यसअघि नौको शब भेटिएको थियो। उनीहरुको पहिचानसमेत भइसकेको छ।

यसअघि सनाखत भएका मृतकहरुमा नागपुजे गाउँका भक्तिमाया श्रेष्ठ (६३), ट्याक्से शेर्पा (९८), ज्ञानीमाया प्रधान (४२), भिरखर्क बिक टोलका जुनु बिक (२३), सुकुलाल बिक (२४), सन्देश बिक (८) तथा नेवार टोलका सर्किनी नेवार (६०), धनलाल नेवार (६५) र हिरामाया श्रेष्ठ (४२) छन्। प्रहरीका अनुसार पहिरोस्थलमा नौ र भोटेकोसी तथा सुनकोसी नदीमा एकरएकको शब भेटिएको हो।

प्रहरीका अनुसार एक महिलाको शब घटनास्थल नजिक भोटेकोसी नदीको बसेरी र एक पुरुषको शब झण्डै आठ किमी तल सनकोसी नदीको बलेफीमा भेटिएको थियो। घटनास्थलमा रहेका जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले बेपत्ताको खोजी र क्षतिको विवरण संकलन भइरहेको बताए। उनका अनुसार पहिरोमा भिरखर्क टोलका तीन, नागपुजेका १६ र नेवार टोलका एक जना पहिरोमा बेपत्ता छन्।

प्रहरीको प्रारम्भिक विवरण अनुसार पहिरोले ११ घर बगाएको छ। नागपुजेका सात, भिरखर्कका दुई र नेवार टोलका दुई घर पहिरोले बगाएको हो। पहिरोमा घरसँगै ३१ बेपत्ता भएको पुष्टि भएकामध्ये ११ को शब भेटिएको प्रहरीले जनाएको छ।

अबिरल वर्षासँगै आइतबार बिहान साढे दुई बजेतिर बाह्रविसे नगरपालिका–७ घुम्थाङमा बाक्लो बस्तीमाथिको भिरखर्कको ढिस्को खसेर पहिरो निम्तिएको हो। पहिरो बस्ती लछार्दै पाँच–सात सय मिटर दुरीमा तल रहेको भोटेकोसी नदी पुगेको थियो। पहिरोको मुखैमा भिरखर्क र त्यसमुनि नागपुजे बस्ती छन्। नागपुजेमा बिक, नेवार लगायत टोल पर्छन्।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले बेपत्ताको खोजी गरिरहेको डिएसपी सापकोटाले बताए। बाक्लो बस्ती रहेको नागपुजेमा धेरै जनधनको क्षति पुगेको प्रहरीको अनुमान छ। दुई शब नदीमा भेटिएकाले बेपत्ता कतिपयलाई पहिरोले हुत्याएर नजिकको भोटेकोसी नदी पुर्यारएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। सुरक्षाकर्मीले नदीमा समेत खोजी जारी राखेका छन्। नागरिक न्यूजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार