काठमाडौं। उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी उद्धार भएको छ। प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् ।
गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर्च तिर्न नसकेर दुई महिनादेखि बन्धक रहेका थिए ।उनीहरुलाई मुक्त गर्न मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै अस्पतालको रकम तिर्ने निर्णय गरे पनि कर्मचारीहरुले फाइलमाथि फाइल खडा गर्दै रकम निकाशामा ढिलासुस्ती गर्दै आएको पाइएको छ ।
महान्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्चको व्यवस्था गर्नुका साथै उनीहरुलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन समेत गरिएको जानकारी दिए । सदा दम्पत्ति घरतिर लागेको तस्बिर सार्वजनिक गर्दै महान्यायाधिवक्ता झाले उनीहरुको विषय उठान गर्ने सबैलाई धन्यवाद दिएका छन् । घटनाको बारेमा जानकारी पाएपछि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले समेत गम्भीर चासो दिएका थिए ।
भट्टराई लगायत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उठाएको मुद्दालाई सम्बोधन गर्दै प्रदेश २ का महान्यायाधिवक्ता झाले लेखे, ‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत विहिवार नै गरेको थियो । प्रकृयामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु ।’उनी सामाजिक सञ्जालमा लेखेर मात्रै बसेनन् । तत्कालै गोल्डेन हस्पतालका सञ्चालक मध्येका एक सनातन मण्डललाई फोन गरे र प्रदेश सरकार जवानी बसेकोले मुक्त गरिदिन आग्रह गरे भने आवश्यक पहल पनि गरे ।
दोहोरो-तेहेरो अन्यायमा परेका दलित दम्पत्ति सप्तरीको महुलीका स्थानीय बासिन्दा हुन् । उनीहरूलाई कुट्ने तारेखमा छुटिसकेका छन् तर, कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा बन्धक बनाइएका हुन् । घाउचोटको उपचारको पैसा तिर्न नसकेपछि अस्पतालले बन्धक बनाउँदै आएको थियो ।
उनीहरुले दुई महिनासम्म अन्य बिरामीका आफन्तले दिएको खाना खाएर अस्पतालमा दिन कटाउँदै आएका थिए । रातोपाटीबाट साभार