दुई महिनामै साढे तीन अर्ब व्यापार घाटा

धनगढी । धनगढी-कैलालीको त्रिनगर भन्सार नाकाबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामै साढे तीन अर्ब व्यापार घाटा भएको छ । आर्थिक वर्ष २०७७-०७८ को साउन र भदौ महिनामा जिल्ला भन्सार कार्यालय कैलालीबाट ३ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ व्यापार घाटा भएको हो । जिल्ला भन्सार कार्यालय कैलालीले मुख्य गरी त्रिनगर भन्सार नाका र कैलालीको रतनपुरसम्म तथा कञ्चनपुरको बेलौरीसम्मको सीमानाकाबाट हुने आयात निर्यात हेर्ने गरेको छ । सो भन्सार कार्यालयका अनुसार साउनमा १ अर्ब ६० करोड ४३ लाख र भदौमा १ अर्ब ९४ करोड ९ लाख रुपैयाँको व्यापार घाटा भएको छ । भन्सार अधिकृत डिल्लीप्रसाद शर्मा पौडेलले चालु आर्थिक वर्षको साउनमा १ अर्ब ६४ करोड र भदौमा २ अर्ब रुपैयाँको मालसामान आयात भएको बताए । यसैगरी, साउनमा ३ करोड ५७ लाख र ५ करोड ९१ लाख रुपैयाँको मालसामान निर्यात भएको उनले बताए ।

भन्सार अधिकृत पौडेलका अनुसार लकडाउनपछि बजार खुलेकाले आयात पनि बढेको छ । उनले असारदेखि आयात बढेको बताए । “चैत, वैशाख र जेठमा आयात आधा भन्दा कम भएको थियो,” उनले भने, “सो अवधिमा राजस्व संकलन पनि आधा घटेको थियो । लकडाउन खुलेपछि असारदेखि राजस्व संकलनले लक्ष्य भेटेको थियो ।”लकडाउन खुलेसँगै जिल्ला भन्सार कार्यालय कैलालीले लक्ष्य भन्दा करिब ५० प्रतिशत बढी राजस्व संकलन गरेको छ । “असारमा हामीले लक्ष्य भेटेको थियौं,” पौडेलले भने, “साउन र भदौमा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको छ ।”

भन्सार कार्यालय कैलालीका अनुसार साउन र भदौमा क्रमशः ४८ करोड ५२ लाख र ५४ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । भन्सार अधिकृत पौडेलले साउनमा ५७ करोड ७२ लाख र भदौमा ६१ करोड २५ लाख राजस्व संकलन भएको बताए । आयातबाट साउनमा ३७ करोड ७३ लाख भन्सार महसुल, १८ करोड २४ लाख मुल्य अभिवृद्धि कर र एक करोड ७५ लाख अन्त शुल्क संकलन भएको भन्सार अधिकृत शर्माले बताए । उनले भदौमा ४० करोड ५० लाख भन्सार महसुल, १९ करोड एक लाख मूल्यअभिवृद्धि कर र एक करोड ५३ लाख अन्त शुल्क संकलन भएको बताए ।

यसैगरी, निर्यातबाट साउनमा एक लाख ५३ हजार र भदौमा एक लाख ६० हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । त्रिनगर नाकाबाट रोजिन, टर्पेन्टाइन र स्क्र्याब मात्रै निकासी हुने गरेको छ । लकडाउनसँगै सोको निकासीमा समेत गिरावट आएको भन्सार अधिकृत पौडेलले बताए । सो नाकाबाट दैनिक उपभोग्य वस्तु, इलेक्ट्रोनिक्स, हार्डवेयर, कस्मेटिक तथा फेन्सी, थान कपडा, पेट्रोलियम, कोइलालगायतका सामग्री आयात हुने गरेको छ । लकडाउन अवधीमा चामल, गहुँ, मकै, सोयाबिन, आलु, प्याज, कोइला, पेट्रोलियमलगायतका अत्यावश्यक सामग्री मात्रै भित्रिएको थियो भने लकडाउनपछि सबै सामग्रीहरु आयात हुन थालेको छ ।

सरकारी कार्यक्रमले निर्यात कहिले बढाउने ?
सुदूरपश्चिम प्रदेश सरकार र प्रदेशका स्थानीय तहहरुले हरेक वर्षको आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई प्रवद्र्धन गर्ने भनेर वार्षिक नीति तथा कार्याक्रम र बजेट ल्याउँछन् । उनीहरुको केही कार्यक्रमहरुले उत्पादन बढाउने संकेत गर्छन् तर, कार्यान्वयन प्रभावकारी नहुँदा प्रदेश आफैं आत्मनिर्भर हुन सकेको छैन ।यसैगरी, औद्योगिक उत्पादनहरु समेत बढाउने भनेर प्रदेश र स्थानीय सरकारहरुले उद्यमीलाई विभिन्न अनुदान दिँदै आएका छन् । कृषिमा समेत सरकारले अनुदान दिँदै आएको छ । कृषि उत्पादन निर्वाहमुखी हुनुका साथै उद्योगहरु पनि अनुदानमुखी भएको देखिन्छ ।

कृषि मन्त्रालयले आयात प्रतिस्थापनका लागि कृषि उत्पादन बढाउनका लागि रणनीति बनाउन विभिन्न चरणमा छलफल गरेको भएपनि अझै तयार गर्न सकेको छैन । निर्यातमुखी कृषि उत्पादन बढाउनका लागि चिया, कफी, अलैंचीलगायतका नगदे बाली लगाउनका लागि मन्त्रालयले छलफल समेत चलाएको छ । एक वर्ष अघि कारोबारसँगको अन्तरवार्तामा प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले कृषि उत्पादन बढाएर प्रदेश एक वर्षमै आत्मनिर्भर हुने र अर्को वर्षदेखि निर्यातमा जाने बताएकी थिइन् । तर प्रदेशले अझै चामल, दाल, आलु, प्याज, तरकारी र फलफूललगायतका उपभोग्य वस्तु ठूलो मात्रामा आयात गरिरहेको छ ।

अर्थशास्त्री प्राध्यापक शिवहरि मुडभरी सरकारले कृषिलाई पहिलो वा दोस्रो प्रथामिकतामा राख्दै लगानी गरेको भएपनि उत्पादन बढ्न नसकेको बताउँछन् । उनले आयात प्रतिस्थापन गर्दै निर्यातलाई बढाउनका लागि कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन जरुरी रहेको बताए । उनले सरकारका अधिकारीहरुलाई आयात प्रतिस्थापन गर्न उत्पादन बढाउने पर्ने कुरा ज्ञात भएपनि ठोस कार्ययोजना बनाउन नसक्दा उत्पादन नबढेको बताए । ठोस योजना बनाएर कार्यान्यन गरेपनि उत्पादन बढ्ने र आयात आफैं प्रतिस्थापित हुँदै निर्यात पनि बढ्ने उनको भनाइ छ ।karobardailyबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार