मिर्गौलाको डायलासिस गर्न पाइरहेपछि ६० बिरामी भए कोरोनामुक्त

बुटवल । बुटवल ११ देवीनगरकी ५५ वर्षीया तिलकुमारी सारु मिर्गौलाकी बिरामी हुन्।दुबै मिर्गौलाले काम नगर्ने भएपछि उनले विगत ११ वर्षदेखि नियमित डायलासिस गराउँदै आएकी छन्। नियमित डायलासिस गराउँदा पनि उनलाई बेलाबेलामा अरू समस्याले समेत सताउने गर्छ।हरेक वर्ष मौसम परिवर्तन हुँदा देखिने सामान्य रुघाखोकीदेखि खानपानमा थोरै असावधानी गर्ने वित्तिकै हातखुट्टा फुल्ने त उनको लागि सामान्य बनेको छ।

पछिल्लो सात महिनादेखि नेपालमा समेत महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमणबाट उनी पनि अछुतो रहन सकिनन्।बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित डायलासिस गराउँदै आएकी सारुले संक्रमण पुष्टि भएपछि पनि डायलासिसलाई नियमित गरिन्। अन्ततस् उनले १० दिनमै कोरोना संक्रमणबाट मुक्ति पाइन्।

बुटवल पुरानो बसपार्कका ७४ वर्षीय विशेष थापा पनि मिर्गौलाका बिरामी हुन्। तीन वर्षदेखि औषधी सेवन गर्दै आएका थापाले डेढ वर्षदेखि नियमित मिर्गौलाको डायलासिस गराउँदै आएका छन्।साताको दुई पटक डायलासिस गराउँदै आएका उनी पनि गत महिना कोरोना संक्रमित भए। नियमित डायलासिस गराइहँदा स्वास्थ्यमा सुधार आइरहेकाले होला उनमा कोरोनाको संक्रमणबाट पनि छिटो मुक्ति मिल्छ भन्ने आत्मविश्वास थियो। उनीभित्रको आत्मविश्वासकै कारण दुई साता नबित्दै उनी पनि कोरोनामुक्त भए।

बुटवल बुद्धनगरकी सुमित्रा बिकले ४२ वर्षको उमेरदेखि नै मिर्गौला फेल भएपछि नियमित डायलासिस गराउँदै आएकी छन्। चार वर्षदेखि डायलासिस गराउँदै आएकी सुमित्रालाई उच्च रक्तचाप र दम समेत देखिएको छ। उनको उच्च रक्तचापकै कारण मिर्गौला फेल भई डायलासिस गराउनुपर्ने अवस्था आएको थियो।उनी पनि भदौ दोस्रो अन्तिम साता कोरोनाबाट संक्रमित भइन्।कोरोना संक्रमण पुष्टि भए पनि मिर्गौलाको नियमित डायलासिस र खानपान र अरु स्वास्थ्य सावधानी अपनाएकै कारण तीन साता नबित्दै कोरोना जितेरै छोडिन्। अहिले पनि उनले हप्ताको ३ पटक डायलासिस गराउँदै आएकी छन्।

सुमित्रा, विशेष र तिलकुमारी त प्रतिनिधि पात्र मात्र हुन्। बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा नियमित डायलासिस गराइरहेका ६० जना बढी बिरामीले कोरोनाको संक्रमणलाई जितेर संक्रमणमुक्त भएका छन्।भदौ दोस्रो सातादेखि नै अस्पतालका ४० जनाभन्दा बढी स्वास्थ्यकर्मी र ६० जना बढी मिर्गौलाका बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको अन्य सेवा एकसाता बन्द गरिए पनि डायलासिस सेवा भने सुचारु गरिएको थियो।

अस्पतालका निर्देशक डा। समिर गौतमले नियमित डायलासिस गराइरहेका मिर्गौलाका बिरामीलाई एकसाता पनि डायलासिस गर्न रोकिँदा झनै स्वास्थ्य जोखिममा पर्ने भएकाले डायलासिस सेवा भने नरोकिएको बताउँछन्।सोही कारण कोरोना संक्रमण भएर पनि बिरामीहरूले संक्रमणलाई जित्न सहज भएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा। रजत कायस्थ बताउँछन्।

डा. कायस्थका अनुसार डायलासिस गराउनुपर्ने कोरोना संक्रमित बिरामीको लागि अस्पतालले छुट्टै मेसिनको व्यवस्था गरी डायलासिस सेवा दिँदै आएको छ।मिर्गौला, मुटु, दम, क्यान्सर लगायतका दीर्घरोगीहरूलाई कोरोनाको संक्रमण झनै जोखिमपूर्ण हुने भएकोले बिरामीहरूको उपचारमा विशेष ध्यान दिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।

चिकित्सकहरूका अनुसार नेपालमा दीर्घ रोगसँगै कोरोनाको पनि संक्रमण भएका बिरामीहरूको मृत्युको संख्या धेरै छ।सरकारले देशभर स्थापना गरेका कोरोना विशेष आइसोलेसनहरूमा थोरै भए पनि भेन्टिलेटरसहितका आइसियू सेवा सञ्चालन गरे पनि डायलासिस मेसिनको भने व्यवस्था गरिएको छैन। जसको कारण कोरोना संक्रमित मिर्गौलाका बिरामीहरूको मृत्यु हुने क्रम बढ्दै गएको छ।

बुटवल १० का ७९ वर्षीय पुरूषको शनिबार कोरोना विशेष अस्पतालमा मृत्यु भयो। यसअघि नै मिर्गौलाको समस्या रहेका उनलाई असोज १० गते कोरोना संक्रमण पुष्टि भएको थियो।कोरोना संक्रमण पछि स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि धागो कारखानास्थित आइसियूमा भर्ना गरिएको थियो। कोरोना संक्रमणसँगै निमोनिया र मिर्गौलाका रोगी उनलाई १३ दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिए पनि शनिबार मृत्यु भएको थियो।

कोरोना विशेष अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाका अनुसार आइसोलेसनमा मृत्यु हुने अधिकांश संक्रमितमा निमोनिया र मिर्गौलाको समस्या देखिने गरेको छ। तर आइसोलेसनमा ४ वटा भेन्टिलेटर राखिएको भए पनि डायलासिस मेसिन भने राखिएको छैन।

लुम्बिनी प्रादेशिक अस्पतालले डायलासिस गराइरहेका कोरोना संक्रमितको लागि दुइटा मेसिन अलग्गै राखेर डायलासिस गराउँदै आएको भए पनि आइसोलेसनमा भने अभाव रहेको छ ।कोरोना संक्रमणपछि लुम्बिनी प्रदेश सरकारले स्थापना गरेका कुनै पनि कोरोना विशेष अस्पतालमा डायलासिस मेसिन जडान गरिएको छैन।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा। पुष्पराज पौडेलले सरकारले कोरोना अस्पतालको लागि एकमुष्ट बजेट उपलब्ध गराएको सम्बन्धित अस्पतालले आवश्यक अनुसारका उपकरण व्यवस्था गर्नुपर्ने बताए।

‘सरकारले कोरोनाको उपचारको लागि छुट्याएका चार वटै अस्पताललाई बजेट पठाइसकेको छ, त्यहाँ के आवश्यक परेको छ सम्बन्धित अस्पतालले जुटाउनुपर्ने हो,’ उनले भने। बुटवलको कोरोना विशेष अस्पतालमा डायलासिस मेसिन आवश्यक रहेको भन्दै माग गरिएपछि एउटा मेसिन गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले उपलब्ध गराए पनि संचालन गर्न नजानेको भन्दै फिर्ता गरिएको थियो। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार