सुर्खेतमा पाँच सय जनालाई डेंगू

सुर्खेत । सुर्खेतमा डेंगू संक्रमण बढ्दो क्रममा छ। विशेषगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा डेंगूका बिरामी धेरै देखिएका छन्। वीरेन्द्रनगरमा रहेका सरकारी तथा निजी अस्पतालहरूमा आउने धेरैजसो बिरामीमा डेंगू संक्रमण देखिने गरेको छ।

कर्णाली प्रदेश अस्पतालका डा. प्रदीप न्यौपानेका अनुसार अस्पतालमा दैनिक २–३ जनासम्म डेंगूका बिरामी भर्ना हुने गरेका छन्। भर्ना गर्नैपर्ने खालका डेंगू संक्रमितहरूलाई मात्र भर्ना गर्दा यो दर देखिएको उनले बताए।

‘सबैलाई भर्ना गरिँदैन, धेरै समस्या भएका डेंगू संक्रमितहरूलाई मात्र भर्ना गर्ने गरेका छौं,’ डा. न्यौपानेले भने, ‘सबैलाई भर्ना गर्ने हो भने त बेड नै पुग्दैन होला, डेंगूको प्रकार हेरेर अवस्था अनुसार कतिपयलाई परामर्शसहित घरमै आराम गर्न पठाइन्छ।’

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार यो वर्षको चार महिनामै अघिल्लो वर्षको भन्दा चार गुणा धेरै डेंगूबाट संक्रमित भएका छन्। गत आर्थिक वर्ष सुर्खेतका १३४ जनामा डेंगू देखिएको थियो।

यो वर्ष (मंगलबारसम्म) सुर्खेतका ५०१ जनामा डेंगू संक्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी उदय बिसीका अनुसार सात जना प्रदेशका अन्य जिल्लाका मानिसमा डेंगू देखिएको छ।

सफा पानीमा बस्ने एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने डेंगूको संक्रमण ग्रामीणभन्दा पनि सहरी क्षेत्रमा धेरै फैलिने गरेको थापाले बताए। ‘ डेंगू सार्ने लामखुट्टै सुर्खेतमा धेरैजसो हुने भएकोले डेंगू संक्रमितहरू सुर्खेतका धेरै छन्,’ उनले भने। उनका अनुसार पछिल्लो महिना असोज र कात्तिकमा डेंगू संक्रमण धेरै देखिएको छ। सेतोपाटी साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार