धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त नाङ्गीदेवी मन्दिर अझै ओझेलमा

दग्नाम, १६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र दर्मिजा गाउँको शिरमा अवस्थित नाङ्गीदेवी मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भए पनि आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा अझै ओझेलमा परेको छ । नाङ्गीडाँडाको टुप्पोमा रहेको यो स्थान प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा र धार्मिक आस्थाको अद्भुत संगमका रूपमा चिनिन्छ ।

स्थानीय परम्पराअनुसार यहाँ प्राचीनकालदेखि सत्यदेवीको पूजा–आराधना गरिँदै आएको छ । दग्नाम गाउँबाट करिब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने यस स्थानमा विशेषगरी वैशाख महिनाको उजेली मंगलबार भव्य रूपमा पूजा गर्ने चलन रहेको नाङ्गीदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हिमलाल गर्बुजाले जानकारी दिनुभयो ।स्थानीय परम्पराअनुसार भूमेपूजाको छ्याङ राख्ने दिन यहाँ डाँडा खेल्ने’ चलन रहिआएको छ, जसले गाउँको सांस्कृतिक पहिचानलाई झल्काउने गरेको छ ।

मनोकामना पूरा हुने विश्वासका कारण दग्नाम, दर्मिजा, राखु, वेग र चिम्खोलालगायत क्षेत्रका श्रद्धालु भक्तजन यहाँ पुगेर पूजा अर्चना गर्ने गर्दछन् । मन्दिर परिसरमा देवीलाई बाख्राको पाठी, परेवा र नरिवल, सिद्धलाई बोका तथा ठाकुरलाई भेडाको थोमा चढाउने गरिन्छ भने करिब २५ वटा अन्य देवताहरूलाई कोरीपूजा गर्ने परम्पराले यस क्षेत्रको धार्मिक विविधता झल्काउँछ ।

उजेली मंगलबारको दिन भक्तजनहरूले पूजा–दर्शन गरी मारुके फूल लगाएर एक–आपसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । उक्त अवसरमा नाङ्गीडाँडामा एकदिने खेलकुद कार्यक्रम आयोजना हुनुका साथै मौलिक तथा परम्परागत गीत–संगीतमार्फत सामूहिक मनोरञ्जन गर्ने परम्परा समेत रहेको छ ।

नाङ्गीडाँडाबाट धौलागिरी र अन्नपूर्ण रेञ्चका दर्जनौ हिमश्रृंखलाका मनमोहक दृश्यहरू आँखैअगाडि स्पष्ट रूपमा देख्न सकिन्छ । विशेषगरी गुराँस फुल्ने मौसममा जंगल राताम्य भएर आकर्षक दृश्य प्रस्तुत गर्छ । सदाबहार हरियाली, लालीगुराँस, रंगीचंगी फूल तथा विविध वन्यजन्तु र चराचुरुङ्गीले यस क्षेत्रलाई जैविक विविधताले सम्पन्न बनाएको छ ।

नाङ्गीदेवी मन्दिर क्षेत्रको विकास र प्रवद्र्धनका लागि आवश्यक पहल अघि बढाइएको नेपाल सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले बताउनुभयो । आगामी दिनमा धार्मिक तथा पर्यटकीय महत्व बोकेको उक्त स्थलको संरक्षण गर्दै पूर्वाधार विस्तार गर्न प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी थप पूर्वाधार विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्दिर क्षेत्रमा आउने श्रद्धालु भक्तजन तथा पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय लगयत खानेपानीजस्ता आधारभूत पूर्वाधार आवश्यक रहेको वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभएको छ । उहाँका अनुसार पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजाको पहलमा आर्थिक वर्ष २०८१र०८२ मा प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भई पदमार्ग निर्माण, मन्दिर क्षेत्र घेराबार तथा पूजा व्यवस्थापनसम्बन्धी भौतिक संरचना निर्माण गरिएको छ । यसैगरी, व्यक्तिगत लगानीमा करिब १०० जना बस्न मिल्ने दुई वटा आश्रयस्थल समेत निर्माण गरिएको छ ।

यस्ता प्रयासले नाङ्गीदेवी मन्दिरलाई व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, स्थानीय स्तरमा महत्वपूर्ण मानिए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको पर्याप्त प्रचार प्रसार हुन सकेको छैन ।

समग्रमा, धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यको त्रिवेणीका रूपमा रहेको नाङ्गीदेवी मन्दिर म्याग्दी जिल्लाको पहिचान बोकेको अनुपम सम्पदा हो । योजनाबद्ध प्रचार प्रसार, संरक्षण र पूर्वाधार विकास गर्न सकिएमा यो स्थल धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्ने सम्भावना प्रबल रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार