पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास (तस्बिर)

  म्याग्दी न्यूज संवाददाता

बेनी । पर्यटकीय स्थल दुरलेकमा मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ स्थित पर्यटकीय स्थल दुरलेकमा सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ। यसअघि उक्त स्थानमा ढुङ्गा थानमा मात्र पूजा गर्ने प्रचलन रहेको थियो।स्थानीय सामाजिक संस्था दिपज्योति युवा क्लबको अगुवाइमा निर्माण गरिएको मन्दिरको मंगलबार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो। उद्घाटनका क्रममा उहाँले मन्दिर निर्माणसँगै दुरलेकलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। मालिका गाउँपालिको सबैभन्दा अग्लो ठाउँमा रहेको दुरलेक धेरै विशेषता भएकोले पर्यटनको प्रचुर सम्भावना सँगै बहुमुल्य जडिबुटीको व्यवसायिक सम्भावना रहेको बताउनुभयो । दुरलेक क्षेत्रमा क्षेत्रमा हाइ अल्टिच्युट खेलमैदान  निर्माण गर्न सकेमा खेल पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।

गाउँपालिकाले उक्त क्षेत्रको विकासका लागि सडक, पदमार्ग र अन्य पूर्वाधार निर्माणमा जोड दिएको र आगामी दिनमा थप पर्यटक तथा भक्तजनलाई आकर्षित गर्न प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी थप पूर्वाधार विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।अध्यक्ष गर्बुजाले पर्यटकीय क्षेत्रको विकासमा स्थानीयवासीको सक्रिय सहभागिता र सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो।

मन्दिर निर्माण उपभोक्ता समिति अध्यक्ष ललित रोकाका अनुसार ,मन्दिर निर्माणका लागि करिब एक लाख ५० हजार रुपैयाँ बराबरको श्रमदान तथा एक लाख ४० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको थियो। सिद्ध देवताको दर्शन र पुजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।वडा अध्यक्ष उदयकुमार बुढाथोकीले दुरलेक पहिले गौचरनका रूपमा चिनिने भए पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको बताउनुभयो। उहाँका अनुसार, स्थानीय तह, वडा, गाउँपालिका तथा प्रदेश सरकारको साझेदारीमा सडक, पदमार्ग, आश्रयस्थल लगायतका पूर्वाधार निर्माण गरिएको छ।

उहाँले दुरलेकमा रेलिङ, प्रतीक्षालय, खानेपानी तथा शौचालयजस्ता आधारभूत संरचना आवश्यक रहेको बताउनुभयो । समुन्द्री सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण दुरलेक क्षेत्रमा सुर्याेदय , जडीबुटी, विभिन्न प्रजातिका लालीगुराँस, जंगली जनावर, सुन्दर ग्रामीण बस्ती तथा हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिने स्थानीय दुर्गे पुनले बताउनुभयो ।उद्घाटनमा वडा सदस्य भक्त बहादुर पुन,वडा सदस्य कुमारी पुन,स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार