जुम्लाको कोभिड अस्पताल चिकित्सकविहिन

जुम्ला । जुम्लाका हरेक स्थानीयतहमा कोरोना संक्रमितको उपचारका लागि स्थापित कोभिड अस्पताल चिकित्सकविहिन छन्। चिकित्सक नहुँदा कोभिड अस्पतालले सेवा पाउन सकेका छैनन्। अहिले यहाँका कोभिड अस्पताल नाम मात्रका छन्। सरकारले कोरोना संक्रमितको उपचार सहज बनाउन हरेक स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट व्यवस्थापन गरेको थियो। तर जुम्लामा स्थापना भएका कोभिड अस्पतालमा न चिकित्सक छन्। न चिकित्सकीय औषधि उपकरण नै छ।

हरेक स्थानीय तहले कोभिड अस्पताल निर्माण गरि एक एमबीबीएस डक्टर, ल्याव टेक्नेसियन, दुई जना स्टाप नर्स र एक जना कार्यालय सहयोगी राख्न पाउँछन्। तर यी सुविधा जुम्लाका कोभिड अस्पतालमा छैनन्। कोभिड अस्पताल लेखिएको होर्डिङ बोर्ड मात्र झुण्ड्याईएका छन्। न स्थानीयले औषधि पाएका छन्। नत उपचार सेवा नै। चिकित्सकका लागि पटक पटक सुचना आव्हान गरेपनि चिकित्सक पाउन नसकेको स्थानीयतहरु बताउँछन्। विशेषज्ञ चिकित्सा नपाउँदा सम्म अस्पतालमा खरिद हुने औषधि उपकरणको पनि कुनै टुंगो लाग्नेवाला देखिदैन्।

स्थानीयले भने तत्काल सेवा प्रारम्भ गरेर सुविधा प्रदान गर्न माग गरेका छन्। स्थानीय जयबहादुर खत्रीले नाम मात्रको अस्पताल यो संकटपुर्ण घडिमा नचाहिने बताए। उनले भने, ‘अस्पतालको बोर्ड देख्छौँ, औषधि र स्वास्थ्यकर्मी देख्दैनौँ। अस्पताल आउँछौँ, सेवा पाउँदैनौेँ भने अस्पताल स्थापना हुनेको अर्थ छैन्। ’

जुम्ला तिला गाउँपालिकाका स्वास्थ्य संयोजक गणेशबहादुर शाही चिकित्सक अभावमा अस्पताल सञ्चालनमा ल्याउन कठिन भएको बताउँछन्। उनले भने,‘अस्पताल बनिसकेको छ। विशेषज्ञ डक्टर नपाउँदा चलेको छैन्। डक्टर नियुक्ति नभए सम्मका लागि औषधि उपकरण खरिद गर्न नसकिने अवस्था छ। ’

अक्सिजन, न्युलाइट, अक्सिजन मिटर, अक्सिजन सिलिन्डर आइसियू र भेन्टिलेटर जस्ता उपकरण चिकित्सक नहुँदा सम्म खरिद गर्न र प्रयोगमा ल्याउन नसकिने उनी बताउँछन्। स्थानीय सरकारले सरकारी मापदण्ड अनुसारको तलब भत्ता उपलब्ध गराउने भनिरहेका छन्। तर चिकित्सक आउन मान्दैनन्। जटिल खालका बिरामी आए भनेपनि उपचार संभव छैन्। उनले थपे, ‘विकल्पका रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक बोलाउने तयारी गरिरहेका छौँ। तर यो दिर्घकालिन समाधान होइन। ’

जुम्लाकै तातोपानी गाउँपालिकाले विशेषज्ञ चिकित्सकका लागि दुई पटक सुचना आव्हान गरिसक्यो। तर पनि कुनै पनि विशेषज्ञ चिकित्सक भेटाउन सकेको छैन्। कार्तिक ३ गतेदेखि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको तातोपानीले एमबीबीएस डक्टर नपाउँदा चिकित्सकीय सेवा प्रारम्भ गर्न सकेको छैन्।

स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाई विशेषज्ञ चिकित्सक नभएपनि दुई जना स्टाप नर्स र एक कार्यालय सहयोगी राखेर कोभिड अस्पतालबाट आधारभुत स्वास्थ्य सेवा सुरु गरिएको बताउँछन्। भेन्टिलेटर ल्याउने बिषयमा कर्णाली प्रदेश सरकार संग समन्वय भइरहेको छ, स्वास्थ्य संयोजक चौलागाईले भने, ‘विशेषज्ञ चिकित्सक नआउँदा सम्म उपकरण ल्याउनुको अर्थ छैन्। अहिले सामान्य स्वास्थ्य सेवा दिने काम चलिरहेको छ। ’

सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल कोभिड अस्पताल निर्माण गरे पनि चिकित्सकीय सेवा दिन नसकिएको बताउँछन। दुर्गममा विशेषज्ञ चिकित्सक आउन मान्दैनन्। कसरी कोभिड अस्पतालबाट चिकित्सकीय सेवा दिनु, अध्यक्ष रावलले थपे, ‘जसरी केन्द्रीय सरकारले अस्पताल खोल्न बजेट व्यवस्था गरेको छ। त्यसरी नै केन्द्रबाट विशेषज्ञ चिकित्सक पठाउनु पर्ने व्यवस्था मिलाइदिनुपर्छ। अनिमात्र अस्पताल स्थापना भएको औचित्य हुनेछ। ’

गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी अस्पतालका लागि स्टाफ नर्स, कार्यालय सहयोगीको पदपूर्ति भइसकेको बताउँछन्। तर विशेषज्ञ चिकित्सक भेटाउन नसकिएको दुखेसो गर्छन। ‘कोभिड अस्पतालका लागि घर भाडामा लिइसकेका छौँ। डाक्टर नपाइएपछि जटिल समस्या आइपरेको छ , उनले भने,‘कर्णाली प्रतिष्ठानलाई गुहार्नुको विकल्प छैन। अबको एक विकल्प नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नै छ। ’

सरकारले अस्पताल वा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अनिवार्य अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा १० लाखका दरले बजेट पठाएको थियो। जुम्लाको चन्दननाथ नगरपालिक ाबाहेक सात स्थानीय तहलाई १० लाखका दरले ७० लाख बजेट दिइएको हो।

हरेक स्थानीय तहमा कोभिड अस्पताल छन्। तर सेवाग्राहीले स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्। तत्काल विशेषज्ञ चिकित्सकको व्यवस्था गरेर उपचार प्रक्रिया अघि बढाउन स्थानीयले माग गरेका छन्। चिसोका कारण रुघाखोकी, निमोनिया फैलन सक्ने संभावना छ। यो संग चिसोले कोरोना संक्रमण बढ्ने खतरा पनि छ। यो संकटपूर्ण घडीमा अस्पतालमा चिकित्सकहरु नहुनु निकै दुखःद बिषय भएको स्थानीय बताउँछन्। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार