भरतपुरका मालपोत अधिकृतविरूद्ध सात करोड बिगोको भ्रष्टाचार मुद्दा

काठमाडौं । मालपोत कार्यालय भरतपुरमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार दर्जीविरूद्ध सात करोड ८ लाख १७ हजार ३७ रुपैयाँ बिगो माग दाबी लिई मुद्दा दायर गरेको हो।

उनले राजस्व रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। उनले सो बराबरको राजस्व रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको अख्तियारको दाबी छ।दर्जीले सम्बन्धित बैंकको सरकार छाप र कर्मचारीको दस्तखत कीर्ते गरी सो बराबरको रकम भ्रष्टाचार गरेको अख्तियाको अनुसन्धानले देखाएको छ।

दर्जीलाई आन्तरिक लेखापरीक्षणका क्रममा २ करोड ५८ लाख ३ हजार २३१ र बाँकी रहन आउने रकम ४ करोढ ५० लाख १३ हजार ८०६ असुल र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ अनुसार सजाय माग दाबी लिइएको अख्तियारले जनाएको छ।

यस्तै, मालपोत भरतपुरकै लेखापाल बलराम सापकोटाविरूद्ध ५८ लाख ४३ हजार ८०६ रुपैयाँ बिगो माग्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। उनले राजश्व रकम सरकारी बैंक खातामा जम्मा नगरी खाइमासेको हुनाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

यसैगरी, नायब सुब्बा मनोजकुमार निरौलाविरूद्ध चार लाख ७१ हजार ६१८ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। उनले पनि राजश्व रकम नबुझाएर हिनामिना गरेको देखिएको अख्तियारको दाबी छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार