उखु किसानको आन्दोलन जारी, भुक्तानी नपाएसम्म आन्दोलन नरोकिने

काठमाडौं । उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आइतबारदेखि आन्दोलन शुरु गरेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् ।

मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गते भित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो । तरपनि उद्योगीहरुले एकवर्ष सम्म पैसा नदिएपछि काठमाडौं आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् । बुधबार उखु किसानहरु हातमा उखु लिएर माइतीघर मण्डलामा उभिएका थिए ।

सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरुले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् । उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरुलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ ।

तर किसानहरु भने सरकार र उद्योगीहरुबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् । उखु किसानहरुले उद्योगीहरुबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् । सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार