रेडियो मेलम्ची भवन निर्माण गर्न दुईलाख सहयोग

सिन्धुपाल्चोक । रेडियो मेलम्चीको भवन निर्माणका लागि युवा व्यवसायी जनकलाल श्रेष्ठले दुई लाख पाँच हजार उपलब्ध गराएका छन् ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका– ६ का स्थायी बासिन्दा उनि हाल मेलम्चीमा विविध व्यवसायमा संलग्न छन् । समुदायको सक्रियतामा बनिरहेको सो भवन निर्माणका लागि हालसम्म १८६ जनाबाट १६ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त भइसकेको छ ।

निर्वाचन क्षेत्र विकास कोष, मेलम्ची नगरपालिका, इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिका, ह्योल्मो समितिलगायतका संस्थाले भवनका लागि आर्थिक सहयोग उपलब्ध गराएको रेडियो सञ्चालन समितिका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए ।

अवस्था सामान्य रहेमा अबको दुई महिनाभित्र नयाँ भवनबाट प्रसारण थालिने पनि अध्यक्ष भारतीले बताएका छन् । सङ्ग्रहालय, पुस्तकालय, सूचना केन्द्रसमेत राखिने सो बहुद्देश्यीय भवन निर्माणका लागि करिब ७० लाख रुपैयाँ लाग्ने बताइएको छ ।

यसका लागि रकम अभाव भएको हुँदा विभिन्न पालिका, सङ्घसंस्था तथा सहयोगी, शुभचिन्तकलाई सहयोगका लागि आह्वान गरिएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार