पहिलो चरणमा ४ लाख ३० हजारलाई कोरोना विरुद्धको खोप 

काठमाडौँ । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार फोहोर व्यवस्थापनमा खटिने संकलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालक/सहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्वयंसेविका र वृद्धाश्रमको हेरचाहमा खटिने व्यक्तिलाई खोप दिन लागिएको हो ।

‘पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने गरी काम तीव्र भइरहेको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने । खोपको ढुवानी आइतबारदेखि सुरु भएको स्वास्थ्य सेवा विभागका आपूर्ति महाशाखा प्रमुख भीमसिंह तिंकरीले बताए । खोप लगाउनेमध्ये कुन समूहका कति छन् भन्ने यकिन विवरण भने सार्वजनिक भएको छैन । स्वास्थ्यमन्त्री त्रिपाठीले खोप लगाउने व्यक्तिको विवरण खोप केन्द्रमा सार्वजनिक गरिने बताए ।

विभागले आइतबार तीन वटा गाडीमार्फत प्रदेशमा खोप पठाएको हो । एउटामा प्रदेश १, दुई र वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुलीका लागि खोप पठाइएको विभागले जनाएको छ । अर्को गाडीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पठाइएको छ । पोखराका लागि छुट्टै गाडीमा पठाइएको विभागले जनाएको छ । ‘सबै प्रदेशमा सोमबारसम्म खोप पुगिसक्छ,’ तिंकरीले भने । खोप बोक्ने गाडीको निगरानी गर्न जीपीएस जडान गरिएको छ ।

‘खोप बोकेर गएको गाडी कुन बेला कहाँ पुग्यो ? उसको गति कति छ भन्ने काठमाडौंबाटै निगरानी गरिरहेका छौं,’ एक प्राविधिकले भने । प्रदेशले हरेक जिल्लालाई आवश्यक पर्ने खोप वितरण गर्नेछ । वाग्मतीका काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा र धादिङमा सोमबारसम्म खोप ढुवानी भइसक्ने उनले बताए । भक्तपुरमा आइतबार नै चार हजारभन्दा बढी डोज खोप पठाइसकेको छ ।

 

विभागले यसअघि संकलन गरेको तथ्यांकअनुसार स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सफाइ कर्मचारी, शव व्यवस्थापनमा खटिने, एम्बुलेन्स चालक र कर्मचारी गरी २ लाख १८ हजार ६ सय ९० जना खोप लगाउनेको सूची छ । जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्थानीय तह, अस्पताल, अन्य संस्थाबाट संकलन गरिएको तथ्यांकका आधारमा खोप दिने व्यक्ति पहिचान गरिएको हो । खोप लगाउनेमा काठमाडौंमा सबैभन्दा धेरै ३१ हजार ७ सय १९ जना छन् ।

सबैभन्दा कम मुगुमा ९४ जना छन् । प्रदेशअनुसार सबैभन्दा बढी वाग्मतीमा ६३ हजार ३ सय ६० को नाम खोप लगाउने सूचीमा समावेश छ । त्यस्तै प्रदेश १ मा ३५ हजार ५ सय ७६, प्रदेश २ मा ३४ हजार ८ सय चार, गण्डकीमा १७ हजार ६ सय ३०, लुम्बिनीमा ३९ हजार ४ सय ९५, कर्णालीमा ११ हजार ५ सय ३२ र सुदूरपश्चिम प्रदेशमा १६ हजार २ सय ९३ जनाको नाम सूचीमा उल्लेख छ ।

खोप लगाउने सरकारी स्वास्थ्यकर्मी ५० हजार २ सय ८ जना छन् । सरकारी स्वास्थ्य संस्थामै कार्यरत कर्मचारी, एम्बुलेन्स चालक ७ हजार २ सय ७९ जना छन् । निजी स्वास्थ्य संस्थामा ५५ हजार ६ जनालाई खोप लगाउने सूची बनेको छ । त्यस्तै वडास्तरका महिला स्वयंसेविका ४४ हजार २ सय ७७ जना रहेको विभागले जनाएको छ । सरसफाइतर्फ ६ हजार ८ सय ११ जनाको विवरण संकलन भएको छ ।

‘यो तथ्यांक अधुरो हुन सक्छ । अग्रपंक्तिमा कार्यरत सबै स्वास्थ्यकर्मी, सफाइकर्मीसहित ३ लाखभन्दा बढी हुनुपर्ने हो,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘पूर्ण विवरण अन्तिम चरणमा पुगेको छ ।’ मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार खोप कार्डसमेत वितरण गर्न सकिन्छ ।

खोप लगाउनेको व्यक्तिगत विवरण अनलाइन भर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । विवरणमा खोप लगाउने व्यक्तिको नाम, उमेर, ठेगाना, कार्यरत कार्यालय, काम गरेको अवधि र नागरिकता नम्बरसमेत उल्लेख गर्नुपर्ने हुन्छ । ‘पछिल्लो पटक संकलन भएको विवरणले खोप लगाउनेको यकिन तथ्यांक आउन सक्छ,’ डा। पोखरेलले भने ।

बुधबारदेखि अभियान

कोरोनाविरुद्धको खोप अभियान आगामी बुधबारदेखि सुरु हुने स्वास्थ्यमन्त्री त्रिपाठीले बताएका छन् । पहिलो चरणको राष्ट्रिय खोप अभियान १० दिनभित्र पूरा गरिने छ । नेपालमा ल्याइएको खोप दक्षिण एसिया, युरोप र अमेरिकामा समेत लगाइराखिएकाले सबैलाई निर्धक्क रूपमा लगाउन उनले अनुरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुधबार बिहान खोप अभियानको शुभारम्भ हुने जनाउँदै मन्त्री त्रिपाठीले यसक्रममा सातवटै प्रदेशका अस्पताल र काठमाडौंमा रहेका अस्पताल भर्चुअल विधिले जोडिने जानकारी दिए । अहिले प्रदेशका ६२ अस्पताल तथा १२० भन्दा बढी खोप केन्द्रबाट र माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय खोप केन्द्रबाट खोप लगाइने उनले बताए ।ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार