स्रोत नखुलेको ३८ लाखसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित पाँच जना पक्राउ परेका छन्। बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्युरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले २२ लाख ८ हजार १ सय ५० रुपैयाँ लेखिएका २४ थान चेक पनि बरामद गरेको छ। पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका-१ का २७ वर्षीय नवराज रावत, २८ वर्षीय सञ्जय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका-११ का २७ वर्षीया सानुमाया तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ का २७ वर्षीय भीमसेन बहादुर तामाङ छन्।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरूपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गरेको थियो। तलासी लिँदा उक्त रकम र चेक फेला पारेको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोक पठाइने वृत्तले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार