भूकम्पले भत्किएको गुम्बा पुनर्निर्माण सुरु

दमौली । विसं २०७२ वैशाखको भूकम्पले क्षति पुगेको तनहुँको भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा पुनर्निर्माण सुरु गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुदान सहयोगमा भूकम्पले भत्किएको गुम्बाको पुनर्निर्माण सुरु गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले तनहुँमा दुईवटा गुम्बा पुनर्निर्माणका लागि सम्झौता भएकामा एउटाको काम सुरु भएको र अर्को गुम्बाको पनि काम सुरु गर्न ताकेता गरिएको जानकारी दिए । उनकाअनुसार उक्त गुम्बा असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।

प्राधिकरणले भानु नगरपालिका–९ स्थित उर्गेन छोइलिङ गुम्बा र भानु नगरपालिका–२ स्थित बुद्ध हिमाली तमु समान गुम्बा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएको छ । रु ८७ लाख ७३ हजार ६ सय २० को लागतमा दुई गुम्बा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ६० लाख ८५ हजार ७४ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय तहले र स्थानीयवासीले जनश्रमदान गर्नुपर्नेछ ।

गुप्ताकाअनुसार उर्गेन छोइलिङ गुम्बा रु ४४ लाख ६६ हजार २० को लागतमा पुनर्निर्माण हुनेछ । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु ३० लाख ९७ हजार ४ सय ७४ उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु १२ लाख १८ हजार ५ सय ४५ बेहोर्नेछन् ।

बुद्धहिमानी तमु समान गुम्बा रु ४३ लाख सात हजार ६ सयको लागतमा पुनर्निर्माण हुन लागेको हो । त्यसका लागि पुनर्निर्माण प्राधिकरणले रु २९ लाख ८७ हजार ६ सय उपलब्ध गराएको छ भने भानु नगरपालिकाले रु एक लाख ५० हजार र स्थानीयवासीले रु ११ लाख ७० हजार बेहोर्नेछन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार