सिमकोट । हुम्लामा कोरोना सङ्क्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ । बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ ।
ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएपछि अनिश्चित समयका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए । गाउँपालिकामा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेपछि ताँजाकोटका सम्पूर्ण कार्यालय सिल गरिएको हो ।
बुधबारबाट कोरोना परीक्षणमा झन्डै ५० प्रतिशतमा सङ्क्रमण पुष्टि भएपछि कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको हो । सामान्य रुघाखोकी र ज्वरो आएका ४६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ मा सङ्क्रमण देखिएपछि थप फैलिन नदिन बढी जनसम्पर्क हुने कार्यालय सिल गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । उनले भने, “कार्यालयका सबै कर्मचारी नै महामारीमा जुट्नुपर्ने भएकाले नियमित काम स्थगन गरेर कार्यालय बन्द गर्ने निर्णय गरेको हौँ ।”
गाउँपालिका आफैँले ५ सय वटा एन्टिजेन कीट खरिद गरेर बुधबारबाट परीक्षण सुरु गरेको थियो । पहिलो दिनमै आठ जनामा सङ्क्रमण पुष्टि भएको ताँजकोटमा बिहीबार स्वास्थ्यकर्मीको चारवटा टोली बनाएर विभिन्न बस्तीमा परीक्षण गर्दा कूल सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । अझै केही बस्तीमा परीक्षण गर्न बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याँकुले जानकारी दिए ।
यस्तै जिल्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा शुक्रबार चार स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वडा नम्बर ५ मा १५ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएपछि वडा पाँचको गोठीगाउँलाई १० दिनका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिए ।
सिलपछि एक घरबाट अर्को घरमा समेत जानलाई रोक लगाइनुका साथै गाउँमा स्वयंसेवक परिचालन गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । गाउँपालिकामा रहेका प्रत्येक वडामा परीक्षणको दायरालाई बढाइने उनको भनाइ छ । नागरिक खबरबाट