भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्यु भएको हो । सो अवधिमा कोरोनाका २ लाख २२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने २७ लाख २० हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा कोरोनाका ३५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा नयाँ संक्रमितको संख्या २६ हजारभन्दा धेरै छ । कर्नाटक र केरलामा २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदा आन्ध्र प्रदेशमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ ।भारतमा पछिल्लो केही समययता निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ । तर, मृत्युदर भने अझै पनि घटेको छैन । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार