बेनी नगरपालिकामा मोनाले बनाइदिएका चार वटा घर लाभग्राहीलाई हस्तान्तरण (तस्विर सहित)

प्रताप बानियाँ

म्याग्दी ।‘प्रवासी म्याग्देलीहरुको भावना, समृद्ध म्याग्दी हाम्रो चाहना’ भन्ने नारासहित प्रवासी म्याग्देलीहरुको संस्था मोनाले बनाइदिएका घर हस्तान्तरण भएको छ । गतवर्ष वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित म्याग्दीको बेनी नगरपालिकाका ४ परिवारलाई बनाइदिएको घर मङ्गलबार हस्तान्तरण गरिएको हो ।

प्रवासी म्याग्दी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिअन्तर्गत मोनाद्वारा बाढीपहिरो पीडितका लागि निर्मित घर हस्तान्तरण गरिएको बेनी नगरपालिकाले जनाएको छ । बेनपा–६ अर्थुङ्गे क्षेत्रमा ३ घर तथा १० नम्बर वडा पात्लेखेतमा १ वटा घर निर्माण गरी नवनिर्मित घरको डमी चाबी हस्तान्तरण गरिएको हो । उक्त चाबी बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले लाभग्राहीलाई एकसाथ हस्तान्तरण गरेका थिए ।

बेनपा–६, चुत्रेनीका बाटुलीदेवी थापा, डम्बराका भीमबहादुर थापा र राहुवडाका पूर्णबहादुर विक तथा पात्लेखेतका धनदेवी नेपालीलाई नयाँ घरको चाबी हस्तान्तरण गरिएको थियो । प्रति घर पाँचलाख रुपैयाँको लागतमा निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको मोनाका सचिव रमेश पौडेलले बताए । कार्यक्रमको अवसरमा मोनामार्फत पीडितको घर निर्माणकार्यमा समन्वय र सहयोग गरेको भन्दै नगर प्रमुख श्रेष्ठ, प्रजिअ अधिकारी, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, दल शेरपुजा र दुर्गा बुढामगरलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सोही क्रममा बेनी नगरपालिकाले पनि मोनाका पदाधिकारीलाई सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरिकुमार श्रेष्ठले मोनामार्फत घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गर्नु उदाहरणीय काम भएको बताए । उनले आगामी दिनमा पनि बेनी नगरपालिकाले मोनासँग आवश्यक समन्वय र सहकार्य गर्ने बताउँदै नगर क्षेत्रमा गतवर्ष मात्रै ५८ भन्दाबढी पूर्ण क्षति भएका घरको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा विवरण पठाइएको बताएका छन् । प्रजिअ गणेशबहादुर अधिकारीले सरकारले बनाइदिने बाढीपहिरो प्रभावितको घर निर्माणका लागि धवलागिरि र मंगला गाउँपालिकाले दोस्रो किस्ता माग गरेको भए पनि अन्य स्थानीय तहबाट माग नआएको जानकारी दिए ।

 

कार्यक्रमको समापन गर्दै मोनाका अध्यक्ष जुग्जालीले नवनिर्मित घरको पूर्णरुपमा भोगचलन गर्न लाभग्राहीलाई आग्रह गर्दै नगरपालिकामार्फत संरक्षण गर्न अनुरोध गरेका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य राखेका थिए ।

मोनाका अध्यक्ष जुग्जालीको अध्यक्षता, उपाध्यक्ष सुर्ये भट्टचनको स्वागत र सचिव रमेश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, मोनाका संरक्षक सुवासकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । गतवर्ष भीषण वर्षासँगै आएको बाढीपहिरोले म्याग्दी जिल्लामा कुल २ सय ४७ घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो । तीमध्ये मोनाले जिल्लाको ६ वटै स्थानीय तहमा कुल दुई करोड रुपैयाँको लागतमा ४० वटा घर निर्माण गरी हस्तान्तरणको कार्यक्रम समेत सुरु गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार