मोनाको नाममा स्वार्थपूर्ति गर्ने गतिविधिविरुद्ध बोलेको हुँ : सांसद जुग्जाली

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी, २५ जेठ । गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दी प्रवासी नेपाली संघ (मोना)का इमान्दार सदस्य तथा प्रवासी म्याग्देलीहरूलाई आफ्नो अभिव्यक्तिप्रति गलत बुझाइ नराख्न आग्रह गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको ३२औँ साधारणसभामा जेठ २३ गते व्यक्त गर्नुभएको भनाइप्रति विभिन्न टिप्पणी, चासो र प्रश्न उठेपछि सांसद जुग्जालीले सोमबार वक्तव्य जारी गर्दै आफ्नो धारणा स्पष्ट पार्नुभएको हो ।

वक्तव्यमा उहाँले मोना अन्तर्राष्ट्रिय कार्यसमिति तथा विभिन्न देशस्थित राष्ट्रिय समितिहरूमार्फत प्रवासी म्याग्देलीहरूले शिक्षा, स्वास्थ्य, सामाजिक विकास र विपद्का समयमा पुर्‍याएको योगदानको उच्च सम्मान व्यक्त गर्नुभएको छ । साथै विदेशमा रहेका नेपालीहरूलाई दुःख अप्ठ्यारोका बेला सहयोग पुर्‍याउन मोनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

सांसद जुग्जालीले मोनाको नाम र प्रतिष्ठालाई प्रयोग गरेर केही व्यक्तिहरूले व्यक्तिगत, व्यावसायिक तथा राजनीतिक स्वार्थ पूरा गर्न खोजेको भन्दै त्यसप्रति असन्तुष्टि जनाउनुभएको छ । आफ्नो अभिव्यक्ति त्यस्ता गतिविधिविरुद्ध लक्षित रहेको स्पष्ट पार्दै उहाँले त्यसका कारण इमान्दार प्रवासी म्याग्देलीहरूको भावनामा चोट पुगेको भए क्षमायाचना समेत गर्नुभएको छ । “मानवीय सेवा र पवित्र उद्देश्यका साथ स्थापना भएका संस्थाको नाममा केही व्यक्तिहरूले गरिरहेका विकृत गतिविधिप्रति खबरदारी गर्न खोजिएको हो,” वक्तव्यमा भनिएको छ, “यसलाई संस्थाप्रति गरिएको टिप्पणीका रूपमा नबुझ्न अनुरोध गर्दछु ।”

उहाँले जन्मथलोको विकास र समृद्धिका लागि इमान्दारीपूर्वक सहयोग गरिरहेका प्रवासी म्याग्देलीहरूलाई निरुत्साहित नहुन आग्रह गर्दै समग्र म्याग्दीको विकास, सुशासन र समृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

वक्तव्यमा सांसद जुग्जालीले नागरिक, संघसंस्था, सार्वजनिक निकाय तथा पदाधिकारीहरूले आफ्नो सीमा र क्षेत्राधिकारभित्र रहेर इमान्दारिता, पारदर्शिता र सकारात्मक सोचका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने आफ्नो धारणा स्पष्ट, अडिग र प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार