झापा । एकका लागि एक अभियाननले स्थापना गरेको अक्सिजन बैंक झापामा बुधबारदेखि सञ्चालनमा आएको छ। बैंक सहारा नेपालको चारपानेस्थित कार्यालयमा छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटनपछि यसले पूर्णता पाएको हो।
कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डर अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न जनस्तरबाट आर्थिक सहयोगको आह्वान गरेको थियो। अभियानले आजसम्म १ करोड ५३ लाख ७५ हजार आर्थिक सहयोग जुटाएको छ। देशभित्र र बाहिर बसेका नेपालीले १ सिलिन्डर बराबर १५ हजारका दरले अभियानलाई सहयोग गरेका थिए।
संकलित रकमबाट ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको अभियानका संयोजक महेन्द्र गिरीले बताउनुभयो। उहाँका अनुसार थप २ सय सिलिन्डर ल्याउने तयारी भइरहेको छ। सिलिन्डर खरिद गरेर बाँकी रहेको रकम कोभिड नियन्त्रणकै लागि खर्च गरिने र अभियानसँग भएका सिलिन्डर जिल्लाका अस्पताल, आइसोलेशन सेन्टर र सर्वसाधरणलाई उपलब्ध गराइने संयोजक गिरीले बताउनुभएको छ ।
अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्नेछ। रिफिलका लागि ८ सय रुपैयाँ अभियानले लिएर सिलिन्डर उपलब्ध गराइने छ। सरकारी, निजी क्षेत्र र उद्योगी ब्यवसायीको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने अभियानले योजना बनाएको संयोजक गिरीले बताउनुभयो।
कार्यक्रममा प्रजिअ तिमिल्सिनाले अभियानलाई धन्यवाद दिँदै अक्सिजन प्लान्ट स्थापना गर्न आग्रह गरेका छन्। उहाँले महामारीमा सबै क्षेत्रको सहयोग र सहकार्य जरूरी रहेको बताउनुभयो। उद्घाटन कार्यक्रम अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापा जिल्ला सहकारी संघले ५ लाख सहयोग उपलब्ध गराएको छ। सेतोपाटीबाट