कांग्रेस कार्यकर्तालाई घरैमा खोप पुर्‍याएको आरोपमा विराटनगरका मेयर पराजुलीविरूद्ध प्रदर्शन

विराटनगर । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले मध्यरातमा कार्यकर्तालाई घरैमा लगेर खोप लगाइदिएको विरोधमा विराटनगरमा बिहीबार प्रदर्शन भएको छ।

कोरोनाविरूद्धको खोप हरेक नागरिकको नैसर्गिक हक भएको बताउँदै सर्वसाधारणले महानगर कार्यालय परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले मेयर भीम पराजुलीले महानगरबासीविरुद्ध विभेदपूर्ण काम गरेको भन्दै विरोध जनाएका छन्।

बुधबार राति कोरोनाविरूद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीयबाट लखेटिएका थिए। विराटनगर-५ मा आफ्ना समर्थक र कांग्रेस कार्याकर्तालाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले मेयर पराजुलीलाई लखेटेका थिए।

मेयर पराजुली बुधबार राति करिब ९ बजे खोपसहित विराटनगर-५ निवासी कांग्रेस बुथ समितिका सभापति विमलराज भण्डारीको घरमा पुगेर खोप लगाउन थालेका थिए। खोपको लागि कांग्रेसका पनि आफूनिकट कार्यकर्तालाई मात्र खबर गरिएको थियो।

गुपचुप रुपमा निकटलाई मात्र खोप दिएको सूचनापछि सो क्षेत्रको ठूलो भिड जम्मा भएको थियो। आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एक व्यक्तिलाई हातपात गरे भने पराजुलीलाई लखेटेका थिए।

स्थानीयको विरोधपछि मेयर पराजुली दौडँदै कांग्रेस नगर उपसभापति प्रवीण जोशीको गाडी चढेर भागेको स्थानीयले बताएका छन्। उनीसँग काङ्ग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए।

भन्सार एजेन्टसमेत रहेका जोशीको गाडीमा उनी भाग्दा स्थानीयले ढुङ्गा प्रहार गरेका थिए। स्थानीयले विरोध गर्दासम्म करिब १५ देखि २० जनाले खोप लगाइसकेको स्थानीय प्रवीण निरौलाले बताए।

मेयर पराजुलीले भने आफू नगएको र कसैलाई खोप नदिएको दाबी गरेका छन्। काङ्ग्रेसको चुनाव नजिक आएकोले आफ्नो बद्नाम गर्न गलत प्रचार गरिएको उनको दाबी छ।

खोप सबै वडामा गएकोले लुकेर राति लगाउनुपर्ने अवस्था नरहेको भन्दै उनले आफ्नै वडाको पार्टी सदस्यता विवाद मिलाउने बैठकमा रहेको बेला यस्तो आरोप लागेको बताए । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार