भारतीय बजारबाट तस्करी गरेर ल्याइएको कपडा प्रहरीद्धारा बरामद

विराटनगर । भारतीय बजारबाट तस्करी गरेर ल्याइएको कपडा सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ। सशस्त्र प्रहरी बल बिओपी दरैयाले कपडा बरामद गरेको हो।

भारतदेखि भन्सार छली गरेर ल्याइएको करिब २ लाख मूल्य बराबरको कपडा विराटनगर १६ दरैयाबाट बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरेको कपडा क्यारिङ गर्नेले ल्याएको खुलेको छ।विराटनगर र पूर्वी सहर इटहरी, दुहबी, धरान, पथरी लगायतका कपडा व्यापारीले राजस्व छल्न क्यारिङ गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन्।

व्यापारीसँग क्यारिङ गर्नेले पिसको हिसाबले कपडा गन्तव्यसम्म पुर्‍याउने जिम्मा लिएपछि अवैध रूपमा उनीहरूले भरिया प्रयोग गरी तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जानकारी दिए।बिओपी दरैयाका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तको नेतृत्वमा खटिएको टोलीले कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरीले बुधबार पक्राउ गरेको कपडा पनि क्यारिङ गर्नेको रहेको खुलेको छ। तर, कपडा ल्याउने क्यारिङ गर्ने तस्करले प्रहरीलाई देखेपछि सामान छोडेर फरार भएकोले नाम पत्ता लगाउन नसकिएको सशस्त्र प्रहरीले दाबी गरेको छ। बरामद कपडा सशस्त्रले विराटनगर भन्सार कार्यालयमा बिहीबार बुझाएको छ।

भारतको जोगवनीदेखि पूर्वको विभिन्न सहरमा क्यारिङ गरेर कपडा तस्करी गर्ने विराटनगरमा ठूलो गिरोह छ। उनीहरूले तस्करीको कपडा विराटनगरसम्म ल्याएपछि विभिन्न ट्रेड र सप्लायर्सको नाममा बिल बनाएर पूर्वी सहरदेखि काठमाडौंसम्म पुर्‍याउने गरेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार