नेता कार्यकर्ताको घेराबन्दीमा काँग्रेस केन्द्रीय कार्यालय

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित काँग्रेस केन्द्रिय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो ।

३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानविन गर्ने आफूहरुको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रिय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाली काँग्रेस बाराका नेता उपेन्द्र यादवले बताउनुभयो । उहाँले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनी समेत दिनुभयो।

उता, ३० दिनयता पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरूले पार्टीको विधि र विधान विपरित क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताउनुभएको छ । जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीष प्रसाद साहले विधि र विधान विपरित गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरुको धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।

उता, कैलाली क्षेत्र नम्बर १ का काँग्रेस नेता, कार्यकर्ताहरूले पार्टी केन्द्रले आफूहरुको माग सम्बोधन नगरेसम्म धर्नासहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले क्रियाशील सदस्यता वितरणमा आफूहरुमाथि गरिएको अन्यायको तत्काल सम्बोधन नभई धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले पार्टीको जारी केन्द्रिय कार्य समितिले आफूहरुको मागलाई सम्बोधन गर्ने आशा समेत व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसको क्रियाशील सदस्य सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशन समेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आगामी भदौ १६–१९ काठमाडौंमा हुने काँग्रेसको १४ औं महाधिवेशन पछि सार्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार