‘उज्यालो र सफाइ सहर अभियान’ चलाउँदै विद्युत् प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्ने लगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभएको छ । पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान सङ्घीय राजधानी काठमाडौँ उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेकी थिइन् । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको हो ।

‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरू जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौँ, विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ, सहरलाई कुरूप बनाएका विभिन्न सेवा प्रदायकहरूको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिने छ’, घिसिङले भन्नुभयो, ‘हाल भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरहरूमा विस्तार गर्दैछौं ।’

प्राधिकरणले अहिले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौँका बाँकी रहेका ठाउँहरू, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

सडक र पर्यटकीय क्षेत्रमा उज्यालो

प्राधिकरणले स्थानीय तहहरूसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत स्थानहरु र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जडान गरिने बताइएको छ । ललितपुर महानगरपालिकाको सक्रिय सहभागितामा पहिलो चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ । डडेलधुराको अमरगढी नगरपालिकाको मुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भैसकेको छ ।

भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडान भइरहेको छ । काठमाडौँ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ । उज्यालो सहर अभियानअन्तर्गत काठमाडौँको कोटेश्वर– भक्तपुर र कोटेश्वर–कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तीलाई हटाएर स्मार्ट लाइट जडान प्रक्रिया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो।

हाल देशभरबाट थप मागहरू आइरहेको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौँको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुर लगायतका नगरपालिकाहरू रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरूसँग प्रस्ताव माग गरेको छ ।

नगरपालिकाहरूको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुने छन् । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरिवेक्षण प्राधिकरणले गर्ने छ । नगरपालिकाहरुले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन् । सडकका मुख्य चोकहरूमा बढी उज्यालो दिने ठूलो बत्ती (लाइटिङ मास्ट) राखिने छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार