सानेपामा दोस्रो दिन पनि कांग्रेस जिल्ला सभापतिको रिले अनशन

काठमाडौँ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनसन जारी छ । बिहीबार दोस्रो दिन तीन जिल्ला सभापतिहरुले अनशनमा बसेका हुन् ।

आज तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनसनमा बस्नुभएको हो । त्यस्तै ‘सबल कांग्रेसका लागि युवा अभियान’ का तर्फबाट मनोजमणी आचार्य र प्रमोदहरी गुरागाईं पनि अनशनमा बस्नुभएको छ ।

अनशनमा बसेका युवा नेता आचार्यले महाधिवेशनको सुनिश्चिताको लागि अनशनमा बसेको बताउनुभयो। ‘पटकपटक मिति तोक्ने तर महाधिवेशन नगर्ने प्रवृत्ति पार्टीमा देखियो । अहिलेसम्म क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन । मतदाता को हुन् भन्ने थाहा छैन,’ उहाँले भन्नुभयो, ‘क्रियाशील सदस्यतामा पारदर्शीता खोई रु’

२४ घण्टे रिले अनशनको पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला र काभ्रे जिल्ला सभापति मधु आचार्य अनशनमा बस्नुभएको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले विभिन्न तीनबुँदे माग राखेर पार्टी कार्यालयमा धर्ना र अनशन सुरु गर्नुभएको हो। जिल्ला सभापतिहरुको अनशनमा वरिष्ठ नेता पौडेलले ऐक्यवद्धता जनाउनुभएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९-१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकाको टुंगो नलाग्दा भदौ १८ मा तोकिएको वडा अधिवेशन प्रभावित हुने आशंका बढेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार