अफगानिस्तानः २० वर्षे अमेरिकी कारबाही अन्त्य, सेना पूर्ण रूपमा फर्कियो

काठमाडौँ । अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा काबुलबाट फर्किएको जानकारी दिए । उनले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘म यहाँ अफगानिस्तानबाट हाम्रो घरफिर्ती अभियान र अफगानिस्तानबाट अमेरिकीसहित तेस्रो मुलुक र जोखिममा रहेका अफगानी नागरिकको सैन्य उद्धार सकिएको घोषणा गर्न उपस्थित भएको हुँ ।’

उनका अनुसार अमेरिकी सेनाको अन्तिम जहाज सी–१७ काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार दिउँसो ३ बजेर २९ मिनेट जाँदा उडेको थियो । उनले अगाडि भने, ‘यो उडानसँगै धेरै पीडादायी क्षण पनि छन् । हामीले चाहेका सबैलाई ल्याउन सकेनौं ।’अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार नै एउटा वक्तव्य जारी गर्दै अमेरिकी सेनालाई धन्यवाद दिएका छन् । तोकिएको समयभित्र सबै फर्किन सफल भएको उनले जनाएका छन् ।

‘गत १७ दिनमा हाम्रो सेनाले अमेरिकी इतिहासकै ठूलो हवाई उद्धार गरेको छ । अमेरिकी नागरिक, हाम्रा सहयोगी मुलुकका नागरिक र अफगानी नागरिक गरी १ लाख २० हजारभन्दा बढीको उद्धार भएको छ । उनीहरूले यो कार्य बेजोड साहस, व्यावसायिकता र संकल्पका साथ गरेका हुन्,’ राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा भनिएको छ । उनले अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थिति सकिएको पनि बताए । ‘अब अफगानिस्तानमा २० वर्षदेखिको हाम्रो सैन्य उपस्थिति सकिएको छ,’ उनले भने ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले सोमबार अमेरिकाले अफगानिस्तानबाट १ लाख २२ हजारभन्दा बढीको उद्धार गरिएको जानकारी दिएका थिए ।

अफगानिस्तानबाट फर्कने अन्तिम अमेरिकी सैनिक

अफगानिस्तानबाट फर्कने अन्तिम अमेरिकी सैनिक मेजर जनरल क्रिस डोनाहुवे हुन् । उनी ८२औं एअरबर्न डिभिजनका कमान्डर हुन् । उनीसँगै काबुलस्थित अमेरिकी दूतावासका चार्ज डी अफेयर्स रोस विल्सन पनि स्वदेश फर्किएका छन् । यससँगै काबुलमा अमेरिकी कूटनीतिज्ञको उपस्थिति शून्य हुन पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार काबुलस्थित अमेरिकी दूतावास तत्कालका लागि सञ्चालनमा आउनेछैन । तर पनि अफगानिस्तानमा रहने अमेरिकी नागरिकप्रति भने सरकार उत्तरदायी र जिम्मेवार रहने मन्त्रालयले जनाएको छ ।

एक युद्ध, चार राष्ट्रपति

अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थितिका बीच अमेरिकामा चार राष्ट्रपतिले शासन गरेका थिए । सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तानमा अमेरिकी सेना पठाउने राष्ट्रपति हुन्, जर्ज डब्लू बुस । त्यसपछि जारी द्वन्द्वका बीच दुई कार्यकाल बाराक ओबामा अमेरिकाका राष्ट्रपति भए । त्यसपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग सम्झौता गर्ने र अमेरिकी सेनालाई घर फर्काउने वाचा गरेका थिए । तर अमेरिकी सेना फर्काउने जिम्मेवारी भने वर्तमान राष्ट्रपति जो बाइडेनको काँधमा आइपुग्यो ।

अफगानिस्तानमा अमेरिकाले झन्डै २ ट्रिलियन अमेरिकी डलर खर्च गरेको छ । त्यस्तै २० वर्षको अवधिमा करिब २ हजार अमेरिकी सेनाले ज्यान गुमाएका छन् । यही अवधिमा युद्धकै कारण ज्यान गुमाउने अफगानीको संख्या १ लाख ७० हजारभन्दा बढी छ । अमेरिकाले अफगानिस्तानमा ठूलो धनराशि र मानवीय क्षतिका बाबजुद शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार