सभामुखले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजे : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाउनुभएको छ।

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँडेको बताउनुभएको हो । उहाँले निर्वाचन आयोग पनि संविधान र कानूनको राजमार्गमा हिँड्न छाडेको बताउनुभयो ।

उहाँले अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको पनि उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबैभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरो के भने अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेको छ, त्यो चिन्ताको विषय हो ।

अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षड्यन्त्र गरेर, तिकडम गरेर, स्वार्थका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुण्ड गयो होला सरकारमा । त्यो चिन्ताको विषय होइन । त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भैहाल्छ ।’उहाँले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताउनुभयो । खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उहाँले उल्लेख गर्नुभयो । karobardailyबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार