
काठमाडौँ । नेकपा (एमाले)ले सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा आज दुवै पक्षसँग छलफल हुँदै छ । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध एमालेले दायर गरेको रिट निवेदनको गत भदौ २२ मा प्रारम्भिक सुनुवाइपछि छलफलका लागि दुवै पक्षलाई आज बोलाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आदेश दिएको थियो ।
आज उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने छ ।अदालतले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्त गरेको मिले वा नमिलेको विषयमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जबाज माग गरेको थियो । भदौ २२ को आदेशमा विपक्षीहरुको लिखित जबाफ पेस भएको तेस्रो दिन सुनुवाइका लागि पेसी तोक्न भनिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले भदौ १६ गते सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध छुट्टाछुट्टै तीनवटा रिट निवेदन दर्ता गरेकी थिइन् । नागरिक खबरबाट