
काठमाडौं । संविधान दिवस २०७८ को अवसरमा सरकारले प्रदान गर्ने पदक अस्वीकार गर्नेहरुको सूचीमा पत्रकार हरिबहादुर थापा पनि थपिनुभएको छ । यसअघि कार्टुनिष्ट रविन सायमीले सरकारबाट पदक नलिने घोषणा गर्नुभएको थियो ।
इकागज डटकमका प्रधानसम्पादक थापाले सामाजिक सन्जालमार्फत् पदक अस्वीकार गरेको जानकारी दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’विगतमा आफूलाई पदकका लागि पटकपटक सोधिएको र अस्वीकार गरेको भन्दै उहाँले यसपालि भने सोध्दै नसोधी पदक पाउनेहरुको सूचीमा आफ्नो पनि नाम आएको उल्लेख गर्नुभएको छ ।
उहाँले पदक वितरणको विधि र पारदर्शीतामा खुला बहस हुनुपर्ने पनि जनाउनुभएको छ । थापा लेख्नुहुन्छ, ‘राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ । कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ ।’सरकारले संविधान दिवस २०७८ को अवसरमा ९ सयभन्दा बढीलाई पदक दिने निर्णय गरेको छ । अनलाइनखबरबाट