काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दावी गर्नुभएको छ । वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन ।’
कहिलेकाहीँ कसैले मानिसहरु निरास छन् भन्ने गरेको सुनेको भन्दै आफुले जनता निरास नभएको भनेर भन्ने गरेको प्रचण्डले बताउनुभयो । ‘मैले के भन्ने गरेको छु भने जनता त निरास छैनन् । जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादीका नेता कहाँ गए रु सधै घरमा आउँथे, दुःख सुखका कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निरास छन् । आइदिए हुन्थ्यो भन्ने छ’, प्रचण्डको भनाइ छ । उहाँले टाठा बाठा र चुनाव जितेकाहरू बिग्रेको बताउनुभयो ।
‘बिग्रेका भनेका टाठा बाठा र चुनाव जितेका धेरै छन् । मैले जसलाई धेरै ठुलो मन्त्री बनाएँ, त्यहीँ सबैभन्दा ठुलो भगौडा । त्यही धोखेवाज । मन्त्री बनाएपछि ठिक हुन्छ जस्तो ठानियो तर केको हुन्थ्यो ? ’, प्रचण्डले प्रश्न पनि गर्नुभयोे। उहाँले टोपबहादुर रायमाझी र रामबहादुर थापा बादको नाम लिँदै भन्नुभयो, ‘त्यो टोपबहादुर भन्नेलाई मैले कति चोटी मन्त्री बनाएँ अहिले त कहाँ हेर्नुस् त । त्यो बादल मेरो हिजोको साथी, बढि त भन्दिन अहिले तर एलर्जी हुन्छ’ । नागरिक खबरबाट