हातले टेकेर मनास्लु चुचुरोमा

गोरखा । रुसी नागरिक रुस्तम नविवले हात टेकेर घस्रिँदै विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहण गरेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८ हजार १ सय ६३ मिटर अग्लो चुचुरोमा उनी शनिबार बिहान साढे १० बजे पुगेका हुन् ।

‘आइतबार दिउँसो क्याम्प १ र २ को बीचमा हुनुहुन्छ,’ इम्याजिन नेपाल ट्रेक एन्ड एक्स्पिडिसनका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले भने, ‘समिट राम्रो भयो । दुवै खुट्टा नभए पनि मनास्लु आरोहण गर्ने उहाँ नै पहिलो आरोही हो ।’ सन् २०१५ मा रुसको ओम्स्कमा ब्यारेक भत्किँदा दुवै खुट्टा गुमाएका नविवले सेप्टेम्बर २७ बाट मनास्लु आरोहण सुरु गरेका थिए ।

२८ वर्षीय नविवका साथमा दुई रुसी नागरिक र ५ शेर्पा गाइड थिए । ‘अवश्य पनि अन्य सबललाई भन्दा उहाँलाई केही समय बढी लागेको छ । अरूलाई ४ घण्टा लाग्ने बाटो उहाँलाई ८ घण्टा लाग्यो, तर हिम्मत हार्नुभएन’ मिङ्माले भने, ‘आरोहण सजिलो थिएन, तर पनि कीर्तिमान कायम गर्न सफल हुनुभयो ।’

आरोहणका क्रममा हातले टेकेर घस्रिने नविवले शेर्पा गाइडले टाँगेको डोरीको सहायताले शिखर उक्लिएका थिए । यसअघि सन् २०२० मा युरोपको हिमाल माउन्ट एल्ब्रस आरोहण गरेका थिए ।

कोरोनाको जोखिम कम भएसँगै यसवर्ष मनास्लु हिमाल आरोहणमा उत्साह बढेको छ । पर्यटन विभागका अनुसार मनास्लु आरोहणका लागि १७ वटा दलबाट १ सय ७१ जनाले अनुमति लिएका छन् । जसमा १ सय ३३ पुरुष र ३८ महिला छन् । चुमनुव्री गाउँपालिका–१ सामागाउँको मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएकामध्ये केहीले सफल आरोहण गरिसकेका छन् भने केही आरोहणकै क्रममा छन् । विदेशी, गाइड शेर्पासहित यो सिजनमा झन्डै ५ सय जना मनास्लु आधार शिविर पुगेका थिए ।

सामागाउँका दुई स्थानीयले पनि मनास्लु हिमालको पहिलोपल्ट सफल आरोहण गरे । गत मंगलबार आरोहणको क्रममा क्यानडेयिन नागरिक ३७ वर्षीय ब्रेन्ट सेलको मृत्यु भएको थियो । कोरोना महामारीबीच झन्डै ५ महिना सुनसान रहेको मनास्लु क्षेत्रमा हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या भने उल्लेखनीय छ ।

आरोहणमा मोह बढे पनि मनास्लु क्षेत्रको ट्रेकिङ रुट सुनसान छ । आरोहीहरू हेलिकप्टरबाट सीधै सामागाउँ झर्ने गरेका छन् । सहयोगी र केही गाइड मात्र पैदलमार्ग भएर जान्छन् । अक्टोबर, नोभेम्बर, सेप्टेम्बर, अप्रिल र मे महिनालाई मनास्लु भ्रमणका लागि उपयुक्त मानिन्छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार