काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा कमी आएको हो । यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका छन् ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरुको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताउनुभयो । “कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्,” उहाँले भन्नुभयो । कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय बसपार्क गोङ्गबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । रासस