धौलागिरीस्तरीय विद्यालय ब्याडमिन्टन प्रतियोगिता

  म्याग्दी न्यूज संवाददाता

बेनी । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित धौलागिरीस्तरीय विद्यालय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद्को आर्थिक सहयोग तथा जिल्ला ब्याडमिन्टन संघ म्याग्दीको प्राविधिक सहयोगमा बेनीस्थित कभर्ड हलमा आयोजित प्रतियोगितामा साविक धौलागिरीका म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङ जिल्लाका विद्यार्थी खेलाडी सहभागी भएका थिए।

छात्र एकलतर्फ रिहान श्रेष्ठ प्रथम, विकल्प श्रेष्ठ द्वितीय तथा हिप्सन श्रेष्ठ र कुशल मल्ल तृतीय हुनुभयो। छात्रातर्फ क्रिस्टिना सुवेदी प्रथम, एलिना शर्मा द्वितीय तथा सदिक्षा गर्बुजा र जेनिसा रोका तृतीय हुनुभएको छ । मिक्स डबलतर्फ रिहान श्रेष्ठ र एलिना शर्मा प्रथम, विकल्प श्रेष्ठ र क्रिस्टिना सुवेदी द्वितीय तथा जेहान केसी–जिविका शाक्य र विवश पुन–जेनिसा रोका तृतीय हुनुभयो।

प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार तथा ५–५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। विजेतालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ तथा जिल्ला ब्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष सन्दीप अधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा म्याग्दीका खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो। जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेश खेलकुद परिषद्को सहयोगमा प्रदेशका ११ जिल्लाका खेलकुद विकास समितिका अध्यक्षहरूको प्रशिक्षण, साविक धौलागिरी क्षेत्रका खेल शिक्षकहरूको प्रशिक्षण तथा विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरेको जनाएको छ। खेल शिक्षकहरूको प्रशिक्षण कार्यक्रम भने अझै जारी रहेको समितिका कोषाध्यक्ष नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार