साधन राम्जाली मगर
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा पशुपालन परम्परागत अभ्यासबाट व्यावसायिकतातर्फ उन्मुख हुँदै गएको छ । पहाडी भूगोल, प्रशस्त चरन क्षेत्र र अनुकूल हावापानीका कारण मंगला पशुपालनका लागि उपयुक्त मानिन्छ । स्थानीय स्रोत, साधन र रैथाने सीपलाई आधुनिक प्रविधिसँग जोड्दै गाउँपालिकाले पशु विकासका विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले पशुपालनलाई निर्वाहमुखी अभ्यासबाट व्यावसायिक उत्पादनतर्फ रूपान्तरण गर्ने प्रयास गरिरहेको छ । पुस्तौँदेखि खेतीपातीसँगै पशुपालन गर्दै आएका यहाँका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन्। किसानको आयवृद्धि, स्वरोजगार सिर्जना र पोषण सुरक्षालाई लक्ष्य बनाएर गाउँपालिकाले उन्नत जात प्रवद्र्धन, पशु स्वास्थ्य सेवा, अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पहिले अव्यवस्थित गोठ र भकारोका कारण पशुपालनमा उत्पादन कम, रोगको जोखिम बढी तथा मलमूत्र व्यवस्थापन चुनौतीपूर्ण थियो। अहिले भने गाउँपालिकाको सहयोगमा निर्माण भएका व्यवस्थित भकारो, आधुनिक बाख्राखोर र नियमित पशु स्वास्थ्य सेवाले किसानमा व्यावसायिक पशुपालनप्रति नयाँ उत्साह थपेको छ। आर्थिक वर्ष २०८२÷८३ मा पशु सेवा शाखामार्फत २४ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरी गाउँपालिकाले विभिन्न किसानमुखी कार्यक्रम सञ्चालन गरिरहेको छ। बजेट विगतका वर्षको तुलनामा घट्दै गए पनि प्रत्यक्ष उत्पादन र आम्दानीसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले पशुपालनलाई स्थानीयको आयआर्जन वृद्धि गर्ने मुख्य आधारका रूपमा अघि बढाएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

उहाँका अनुसार विशेषगरी बाख्रापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ। त्यसैले नमूना बाख्राखोर निर्माण, उन्नत जातका बोयर बोका तथा पाठी वितरण, बंगुर वितरण, घाँस भण्डारण पूर्वाधार निर्माण, भकारो सुधार तथा पशु स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ। ‘किसानलाई अनुदान वितरण मात्र पर्याप्त हुँदैन। उत्पादन बढाउने पूर्वाधार, आवश्यक औषधि, प्राविधिक ज्ञान र नियमित सेवा उपलब्ध गराउन सके मात्रै पशुपालन व्यवसाय दिगो बन्छ। त्यसैले गाउँपालिकाले पूर्वाधारदेखि प्राविधिक सेवासम्मका कार्यक्रमलाई एकसाथ अघि बढाएको छ,’ उहाँले भन्नुभयो ।
भकारो सुधारले बढायो सरसफाइ र उत्पादन
पशुपालनमा गोठ व्यवस्थापनसँगै मलमूत्रको उचित व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। यही आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा पाँच लाख रुपैयाँ बजेटसहित भकारो सुधार कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत सबै वडाका १७ जना किसान लाभान्वित भएका छन्। किसानले आफ्नो लगानीसमेत थपेर व्यवस्थित भकारो निर्माण गरेका छन् । वडा नम्बर २ रणबाङकी ंगंगा कँडेलले लागत साझेदारीमा भकारो सुधार कार्यक्रमले आफुलाई सहयोग पुगेको बताउनुभयो । ‘पहिले मल जताततै फैलिने र व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो। अहिले व्यवस्थित भकारो बनेपछि मल संकलन गर्न सहज भएको छ। वातावरण पनि सफा भएको छ र खेतबारीका लागि आवश्यक प्राङ्गारिक मल पर्याप्त उत्पादन गर्न सकिएको छ ,’उहाँले भन्नुभयो ।

आधुनिक बाख्राखोर निर्माण
बाख्रापालनलाई आधुनिक र व्यवस्थित बनाउन गाउँपालिकाले वडा नम्बर ४ मा नमूना बाख्राखोर निर्माण कार्यक्रम सञ्चालन गरेको छ। पाँच लाख रुपैयाँ बजेट रहेको कार्यक्रममा किसानसँग ५० प्रतिशत लागत साझेदारी गरिएको थियो। लक्ष्य पाँच वटा खोर निर्माण गर्ने भए पनि हाल तीन वटा आधुनिक खोर निर्माण सम्पन्न भएका छन् । दापु छहरा कृषि तथा पशुपन्छी समूहका सदस्य चक्रबहादुर रोकाले गाउँपालिकाको एक लाख रुपैयाँ अनुदान र आफ्नो एक लाख रुपैयाँ लगानी गरी करिब दुई लाख रुपैयाँ लागतमा २० वटा बाख्रा अट्ने आधुनिक खोर निर्माण गर्नुभएको छ ।

‘गाउँपालिकाबाट एक लाख रुपैयाँ अनुदान र मेरो एक लाख रुपैयाँ थप लगानी गरी दुई लाख रुपैयाँ लागतमा २० वटा बाख्रा अट्ने क्षमताको खोर निर्माण गरेका छौं,’उहाँले भन्नुभयो । ‘व्यवस्थित खोर बनेपछि बाख्रा पालन गर्न सहज हुनुका साथै उत्पादन वृद्धि र रोग नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौं ,’ समुहमा आवद्ध अर्का सदस्य इन्द्रबहादुर रोकाले भन्नुभयो । वडा अध्यक्ष लालबहादुर रोकाले बाख्रापालक कृषकलाई यो कार्यक्रमले बाख्रापालन व्यवसायलाई व्यवस्थित बनाउन, पशुको स्वास्थ्य सुधार गर्न तथा किसानको आयआर्जन वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।
पशु स्वास्थ्य सेवा प्रभावकारी
पूर्वाधार निर्माणसँगै गाउँपालिकाले पशु स्वास्थ्य सेवालाई पनि प्राथमिकता दिएको छ। पशु विकास अधिकृत सगुन बरालका अनुसार शाखाले नियमित रूपमा पशु उपचार, औषधि वितरण, रोग नियन्त्रण, प्रयोगशाला परीक्षण तथा प्राविधिक परामर्श सेवा सञ्चालन गरिरहेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म मात्रै १५ हजारभन्दा बढी पशुपन्छीको उपचार गरिएको तथ्याङ्क छ। उपचार गरिएका पशुमा ९० वटा गाई–गोरु, ५१२ वटा भैँसी, ४ हजार ११७ वटा बाख्रा, ५३ वटा भेडा, १० हजार ३४९ वटा कुखुरा, ५७७ वटा बंगुर तथा अन्य पशुपन्छी रहेका छन्। रोगको पहिचानका लागि गोबर परीक्षण, दूध परीक्षण तथा अन्य प्रयोगशाला परीक्षण नियमित गरिएको छ। साथै प्रयोगशाला व्यवस्थापन, जुनोटिक रोग सम्बन्धी सचेतना, थुनेलो रोग नियन्त्रण, औषधि खरिद तथा ढुवानी, नमुना संकलन र रेबिज नियन्त्रणका लागि कुकुर तथा बिरालोको बन्ध्याकरण कार्यक्रमसमेत सञ्चालन गरिएको शाखाले जनाएको छ।

केही समयदेखि रोकिएको कृत्रिम गर्भाधान सेवा पुनः सञ्चालनमा आएको पशु विकास अधिकृत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार यस सेवाले पशुको नश्ल सुधार, उत्पादन वृद्धि तथा किसानको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। आगामी वर्ष उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, दूध तथा मासुको गुणस्तर अभिवृद्धि, घुम्ती पशु स्वास्थ्य शिविर, पशु बिमा विस्तार तथा थप प्राविधिक सहयोगसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।
बजेट घट्दै, कार्यक्रम निरन्तर
गाउँपालिकाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा पशु सेवा क्षेत्रमा ६० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसपछि आर्थिक वर्ष २०७९/८० मा ३४ लाख, २०८०/८१ मा ३० लाख, २०८१/८२ मा ३४ लाख र चालु आर्थिक वर्ष २०८२/८३ मा २४ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । पाँच वर्षको अवधिमा पशु सेवा शाखाको बजेट करिब ५९ प्रतिशतले घटेको भए पनि गाउँपालिकाले किसानमुखी कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्याललले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै किसानले प्रत्यक्ष लाभ पाउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । ‘बजेट घट्दै गएको अवस्था भए पनि उपलब्ध स्रोतलाई परिणाममुखी बनाउने प्रयास गरेका छौं। अब अनुदान वितरणमा मात्र सीमित नरही उत्पादनमा आधारित कार्यक्रम, गुणस्तर सुधार, बजारसँग जोडिने योजना र किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयासरत छौं,’प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो ।

उत्पादनसँग जोडिएको लगानी
गाउँपालिकाको लगानीले किसानको उत्पादन, आम्दानी र जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्य राखेर सञ्चालन गरिएका कार्यक्रमले सकारात्मक संकेत देखाउन थालेका छन्। व्यवस्थित भकारो, आधुनिक बाख्राखोर, नियमित पशु स्वास्थ्य सेवा, कृत्रिम गर्भाधान तथा किसानको क्षमता अभिवृद्धिका कार्यक्रमले पशुपालनलाई आधुनिक र व्यवसायिक बनाउने आधार तयार गरिरहेका छन्। यद्यपि, विगत पाँच वर्षमा पशु सेवा क्षेत्रमा बजेट निरन्तर घट्दै गएको तथ्यले आगामी दिनमा कार्यक्रमको दिगोपनमा चुनौती सिर्जना गर्न सक्ने देखिन्छ। तर उपलब्ध स्रोतलाई उत्पादन, प्रविधि र किसानको आम्दानीसँग जोडेर अघि बढाउन सके पशुपालन मंगला गाउँपालिकाको ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ ।
‘पशुपालनमार्फत किसानको जीवनस्तर सुधारमा गाउँपालिका’
मंगला गाउँपालिकाभित्र पशु विकासका योजना, कार्यक्रम र हालसम्मका उपलब्धिबारे गाउँपालिका अध्यक्ष सतप्रसाद रोकासँग गरिएको संक्षिप्त संवाद ः
मंगला गाउँपालिकाले पशुपालन क्षेत्रलाई किन प्राथमिकतामा राखेको छ ?
अध्यक्ष सतप्रसाद रोका ः मंगला गाउँपालिका पशुपालनका लागि अत्यन्त सम्भावना भएको क्षेत्र हो। यहाँका किसानको आयआर्जन र जीवनस्तर सुधार गर्ने प्रमुख आधारमध्ये पशुपालन पनि एक भएकाले गाउँपालिकाले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
अहिले गाउँपालिकाले पशुपालन क्षेत्रमा कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ ?
अध्यक्ष सतप्रसाद रोका ःविशेषगरी बाख्रापालनतर्फ किसानको आकर्षण बढेकाले नमूना बाख्राखोर निर्माण, उन्नत जातका बयर बोका र पाठी वितरण तथा उन्नत जातका बंगुर सहुलियत दरमा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेका छौँ। यसले किसानलाई व्यवसाय विस्तार गर्न सहयोग पुगेको छ।
पशुपालनको पूर्वाधार र पशु स्वास्थ्यतर्फ गाउँपालिकाले के–कस्ता काम गरिरहेको छ ?
अध्यक्ष सतप्रसाद रोका ः पशुको राम्रो बासस्थान उत्पादनका लागि महत्त्वपूर्ण हुन्छ। त्यसैले भकारो सुधार, घाँस भण्डारणका पूर्वाधार निर्माण, आवश्यक औषधिको व्यवस्थापन, पशु स्वास्थ्य सेवा तथा पशुपालनसम्बन्धी तालिम सञ्चालन गर्दै आएका छौँ। यी कार्यक्रमले किसानलाई व्यवसाय सञ्चालन गर्न सहज बनाएका छन्।
यी कार्यक्रमबाट किसानले कस्तो लाभ पाएका छन् ?
अध्यक्ष सतप्रसाद रोका ः गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमबाट किसानले प्रत्यक्ष लाभ पाएका छन्। पशुपालन व्यवस्थित भएको छ, उत्पादन वृद्धि हुँदै गएको छ र किसानमा व्यावसायिक रूपमा पशुपालन गर्ने उत्साहसमेत बढेको हामीले अनुभव गरेका छौँ ।
नोट ः यो पालिकाको फेलोशिप लेखन अन्तर्गत तयार पारिएको हो ।





































