पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल हुन्छ, काम नरोक्नू : देउवा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल गर्ने बताउँदै तोकिएको समयमै काम सक्ने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिनुभएको छ । आइतबार पोखरा आइपुग्नुभएका देउवा सोमबार बिहान विमानस्थलको निरीक्षण तथा प्रगति बुझ्न विमानस्थल पुग्नुभएको थियो ।

विमानस्थलको प्रगति र विद्यमान समस्याबारे आयोजना प्रमुख बिनेश मुनकर्मीले ब्रिफिङ गर्नुभएको थियो । विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटानसमेत गर्ने गरेको समस्या मुनकर्मीले देउवालाई सुनाउनुभएको थियो ।

बाढी व्यवस्थापन तथा कटान नियन्त्रण गर्न ३४ करोड रुपैयाँ लाग्ने मुनकर्मीको भनाइ थियो । डाँडा कटान गर्न तीन महीना लाग्ने मुनकर्मीले देउवालाई अवगत गराउनुभयो । नियमित काम गर्न पाउने हो भने वैशाखसम्म निर्माण सकिने मुनकर्मीको ब्रिफिङ थियो । प्रधानमन्त्री देउवाले विमानस्थलका सबै समस्या हल गर्ने बताउँदै कामलाई तीव्र बनाउन निर्देशन दिनुभएको हो । डाँडा कटानका लागि ईआईए गर्दै गर्ने र काम पनि अगाडि बढाउन देउवाले आग्रह गर्नुभयो। ‘ईआईए हुँदै जान्छ, डाँडा कटानको काम नरोक्नू । अरु समस्या पनि केके छन्, पूरा हुन्छ । काम छिटो सक्नुपर्‍यो,’ देउवाको निर्देशन थियो । विमानस्थलका लागि आवश्यक बजेट छुट्याउने देउवाको आश्वासन थियो ।

‘प्रधानमन्त्रीज्यूले समस्याबारे जिज्ञासा राख्नुभएको थियो । हामी यथार्थ प्रस्तुत गर्‍यौं’ मुनकर्मीले भन्नुभयो, ‘उहाँले सबै समस्या संघले हल गर्ने र कामलाई तीव्रता दिएर समयमै सक्न निर्देशन दिनुभयो ।’ प्रधानमन्त्रीले विमानस्थल निर्माण छिटो सक्ने र उडानका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याउने बताउनुभएको थियो । यो विमानस्थल बनेपछि देशको समृद्धि र पर्यटकीय सहर पोखराका लागि पनि धेरै महत्वपूर्ण हुने देउवाको भनाइ थियो ।

ल्याण्डफिल्डका लागि सहजीकरण गर्ने, डाँडा कटान, ढल तथा कटान व्यवस्थापनमा संघ सरकारले समस्या समाधान गर्ने प्रधानमन्त्रीले बताएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए । विमानस्थल नजिकै रहेको पोखरा महानगरको ल्याण्डफिल्डका कारण उडान अवरुद्ध हुने बताइए पनि अहिलेसम्म अर्को विकल्प तयार भइसकेको छैन ।

जनवरीदेखि आन्तरिक उडान गर्ने भनिएको भए पनि त्यो सम्भव नहुने मुनकर्मीले बताउनुभयो । वैशाखबाट पनि विमानस्थल सञ्चालनमा आउन सक्ने उहाँको भनाइ थियो । आइतबार गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न आइपुगेका देउवा सोमबार बिहान पोखरा विमानस्थलबाट हेलिकप्टरमार्फत अन्तर्राष्ट्रिय विमानस्थल पुगेर त्यहीँबाट काठमाडौं फर्किनुभएको छ। विमास्थल निर्माणको काम ८५ प्रतिशत सकिएको मुनकर्मीले जानकारी दिनुभयो।onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार