परमादेशको आधारमा बनेको सरकार समृद्धि विरुद्ध छः पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परमादेशको आधारमा बनेको वर्तमान सरकार लोकतन्त्र, गणतन्त्र, विकास र समृद्धि बिरुद्ध रहेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले वर्तमान सरकार विदेशीको स्वार्थमा घुँडा टेक्नका लागि लाज नमान्ने शक्तिहरुको भएको बताउनुभयो।

‘वर्तमान सरकार विदेशीको स्वार्थमा घुँडा टेक्नका लागि लाज नमान्ने शक्तिहरुको हो,’ उहाँले भन्नुभयो, ‘यो सरकार लोकतन्त्र र गणतन्त्रको बिरुद्ध छ। मुलुकको आर्थिक विकास र समृद्धिका बिरुद्ध छ।’ समाजमा देखिएका अराजकतालाई बढावा दिनका लागि एमाले सरकार ढालेर गठबन्धन सरकार बनेको उहाँले आरोप लगाउनुभयो।

‘यो गठबन्धन मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई धरासायी बनाउनका लागि भएको हो । स्वतन्त्रताको मुद्धालाई कमजोर बनाउनका लागि हो,’ उहाँले भन्नुभयो। महासचिव पोखरेलले एमालेले उठाएको मुद्धालाई कमजोर बनाउनका लागि देशी÷विदेशी शक्तिहरु लागिरहेको आरोप लगाउनुभयो। ‘हामीले विकास र समृद्धिका मुद्धा उठाएका छौं, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका मुद्धा उठाएका छौं, त्यसलाई रोक्नका लागि देश भित्रका शक्तिहरु मात्रै होइन बाहिरका पनि लागे,’ उहाँले भन्नुभयो। उहाँले एमालेको सरकारलाई जनताको समर्थन हुँदाहुँदै पनि त्यो सरकारलाई अपदस्त गर्नुको कारण पनि विकास र समृद्धिलाई रोक्न र राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउनका लागि भएको बताउनुभयो।

सरकार ढालेपनि एमाले आफूले उठाएका विकास र समृद्धिको संकल्प पूरा गर्न कहिल्यै पछि नहट्ने नेता पोखरेलले बताउनुभयो। ‘हामी जुनसुकै ठाउँमा रहौं वा पुगौं । हामी हाम्रो मुद्धा कुनैपनि हालतमा छाड्दैनौं। एमाले आफ्ना मुद्धाबाट एक ईञ्च पनि तलमाथि गर्ने छैन,’ उहाँले भन्नुभयो । उहाँले जनताले निर्वाचित गरेको सरकारलाई अपदस्त गरेर परमादेशका आधारमा गठन भएको सरकारको भण्डाफोर गर्ने बताउनुभयो। एमालेलाई लोकतान्त्रिक मूल्य मान्यताबाट बिचलित हुन्छ कि भन्ने भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो। ‘एमाले हिजो उठाएको मुद्धाबाट बिचलित हुन्छ कि रु लोकतान्त्रिक मूल्य मान्यताबाट बिचलित हुन्छ कि भन्ने विरोधीहरुले ठानेका हुनसक्छन्। तर हामी कुनैपनि हालतमा यी मुद्धाहरुबाट पछि हट्ने छैनौं,’ उहाँले भन्नुभयो।

महासचिव पोखरेलले ओली नेतृत्वको एमाले सरकारले गरेका राम्रा कामहरु उल्टाउने प्रयास वर्तमान सरकारले गरिरहेको भन्दै विरोध जनाउनुभयो। तर त्यसलाई एमालेले सम्भव हुन नदिने चेतावनी दिनुभयो। ‘हिजो गरिएका राम्रा कुराहरुलाई सरकारले खण्डित गर्ने कोशिष गरिएको छ। यो सम्भव हुनेवाला छैन। हामी त्यसलाई सम्भव हुन दिन्नौ,’ उहाँले भन्नुभयो।

एमाले महासचिव पोखरेलले अहिले देश दुई ध्रुवमा विभाजित भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘एकातिर राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, अराजकताको अन्त्य, विकास र समृद्धिको मुद्धा उठाउने र अर्कातिर राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउने, अराजकता मच्चाउने, विकास र समृद्धि हुन नदिने शक्तिहरु गरि दुई ध्रुवमा देश विभाजित छ।’ महासचिव पोखरेलले ओली सरकारले अगाडि सारेका विकास र समृद्धिका संकल्प अरु कसैले पूरा गर्न नसक्ने दाबी गर्नुभयो।

कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले एमालेबाहेक अन्य पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्न नसक्ने ठोकुवा गर्नुभयो। उहाँले वर्तमान सरकार दलाल पुँजीवादी, नोकरसाहीको मतियार भएको आरोप समेत लगाउनुभयो। एमाले केन्द्रीय सदस्य खगराज अधिकारीले विदेशी शक्तिको सेटिङमा एमाले विभाजन गरिएको भन्दै यो कदापी स्वीकार्य नहुने बताउनुभयो।अर्का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले विगतका कमीकमजोरी सच्याएर फेरि पनि अग्रगामी शक्तिहरुबीच एकता गर्दै लोकतन्त्र, गणतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।nagariknews.nagariknetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार