
रौतहट । सत्ता गठबन्धनमध्येको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणालीको फेरबदल अनिवार्य हुने बताउनुभएको छ । जसपा रौतहटले शनिबार यमुनामाई गाउँपालिका वडा नम्बर १ सुकदेव चोकमा आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले शासकीय प्रणाली फेरे मात्रै देश उँभो लाग्ने बताउनुभएको हो ।
अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार र अनियमिततालाई बढावा दिएको भन्दै शासकीय प्रणाली फेर्नु नै अन्तिम विकल्प भएको अध्यक्ष यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिलेको विकृत संसदीय व्यवस्था र निर्वाचन प्रणालीले इमान्दार ब्यक्तिलाई चुनाव लड्न दिंदैन । पूँजिपतिहरुको हातमा मुलुकको शासन व्यवस्था जान थालेको छ । करोडौं खर्च गरेर चुनाव जित्ने व्यक्तिबाट सुशासन र समृद्धिको आशा गर्नु कोरा कल्पना मात्र हुने छ ।
वर्तमान बेथितीबाट मुलुकलाई बाहिर निकाल्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपाति संसदीय व्यवस्था एक मात्र विकल्प रहेको उहाँको भनाई थियो । उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सरकार संचालन गर्ने भएपछि भ्रष्टाचार आफैं नियन्त्रण हुने दाबी गर्नुभयो। अध्यक्ष यादवले जसपाको अगामी लडाई शासन प्रणालीकै विषयमा हुने उद्घोष पनि गर्नुभयो ।कार्यक्रममा संघीय सरकारका संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीयताको कार्यान्वयनका लागी पार्टीले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको बताउनुभयो ।
उहाँले आफूले पाएको जिम्मेवारीबाट संघीयताप्रेमी जनतालाई निराश हुन नदिने जिकिर गर्दै प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आफूले काम शुरु गरिसकेको जानकारी पनि दिए ।कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले परम्परागत पार्टीहरुले मुलुकको आमूल परिवर्तन गर्न असफल भैसकेको भन्दै त्यसका लागि जसपा एक मात्र विकल्प रहेको जिकिर गर्नुभयो। नागरिक खबरबाट