
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताउनुभएको छ। आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने बताउनुभएको हो। प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिनुभयो।
उहाँले देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उल्लेख गर्दै बाढी र पहिराबाट आगामी वर्षमा हुने जनधनको क्षति रोकथाम र न्यूनीकरण गर्ने दिशातर्फ सरकारले योजना बनाएर काम गर्ने जानकारी दिनुभयो। उहाँले पीडितलाई तत्काल राहतका निम्ति अल्पकालीन एवं दीर्घकालीन योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङमा भएको क्षतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौँ, बाढीपहिरोले धेरै नोक्शान गरेको छ, हामी पीडितलाई ऋण लिएर भए पनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छौं, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ,’ उहाँले भन्नुभयो।
उहाँले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताउनुभयो।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीको समेत प्रशंशा गरे। सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताउनुभयो।
प्रधानमन्त्री देउवा आजै इलाम र पाँचथर पुगी क्षतिका विषयमा अवलोकन एवं जानकारी लिने कार्यक्रम रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले जानकारी दिनुभयो।उहाँका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार छन्। सेतोपाटीबाट