टर्कीका राष्ट्रपतिद्वारा अमेरिकासहित १० मुलुकका राजदूतलाई देश निकाला गर्न आदेश

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिनुभएके छ । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएको अलजजिराले जनाएको छ ।

एर्दोगनले टर्कीका लागि अमेरिका, जर्मनी, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतलाई देश निकाला गर्ने आदेश दिनुभएको हो। गत सोमबार ती मुलुकका राजदूतले संयुक्त विज्ञप्ति जारी गर्दै थुनामा रहेका नागरिक अगुवा एवं सामाजिक अभियन्ता ओस्मान काभालालाई रिहा गर्न अपिल गर्नुभएको थियो ।

‘मैले हाम्रा विदेशमन्त्रीलाई यी १० राजदूत अस्वीकार्य भएको (परसोना नन ग्राटा) घोषणा गर्न भनेको छु’, एर्दोगनलाई उदृत गर्दै अलजजिराले लेखेको छ । ‘उनीहरूले टर्कीलाई बुझ्नुपर्छ’, उहाँले थप्नुभयो, ‘उनीहरूले टर्कीलाई नचिनेको दिनदेखि नै हाम्रो मुलुक छोड्नुपर्छ ।’ ‘परसोना नन ग्राटा’ भनेको कुनै पनि राजदूतलाई देश निकाला गर्नुपूर्व चालिने पहिलो कदम हो । राष्ट्रपति एर्दोगनद्धारा देश छोड्ने मिति भने तोकिएको छैन । यदि उहाँको आदेश पूर्ण पालना भए एर्दोगानको १९ वर्षीय कार्यकालमा पश्चिमी मुलुकसँग सबैभन्दा गहिरो दरार पैदा हुने छ ।

बिरलै जारी गरिने संयुक्त विज्ञप्तिमा काभालालाई थुनामा राख्ने कार्यले टर्कीमाथि ग्रहण लागेको उल्लेख गरिएको थियो । संयुक्त विज्ञप्ति जारी गरेको भोलिपल्टै सम्बन्धित मुलुकका राजदूतलाई टर्कीको विदेशमन्त्रालयमा बोलाइएको थियो । पेरिसमा जन्मिएका काभालालाई अभियोग पुष्टि नभइकनै २०१७ देखि थुनामा राखिएको छ । उनीमाथि २०१३ को सरकारविरोधी प्रदर्शन र २०१६ को असफल ‘कु’सँग जोडेर विभिन्न आरोप लगाइएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार