
काठमाडौँ । सरकारले डा.दिपेन्द्ररमण सिंहलाई फेरि स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको छ । डा.सिंहलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउनमा उहाँलाई जिम्मेवारीबाट हटाएको थियो । तर, उनै सिंहलाई जिम्मेवारीबाट हटाएको साढे दुई महिना नबित्दै पुनः जिम्मेवारी दिइएको हो ।
त्यतिबेला स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सिंहको ठाउँमा कान्तिबाल अस्पतालका निर्देशक डा. आरपी बिच्छालाई नियुक्त गर्नुभएको थियो । डा. बिच्छाले अवकाश पाउन तीन महिना बाँकी रहँदा प्रधानमन्त्री देउवाले विभागको महानिर्देशकको जिम्मेवारी सुम्पिनुभएको थियो । नियमअनुसार अवकाश पाउन एक वर्ष बाँकी हुँदा सरुवा गर्न नपाइने अवस्थामा पनि नियम मिच्दै बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।
११ औं तहका डा.विच्छाले आइतबारदेखि नै सेवाबाट अनिवार्य अवकाश पाउनुभएको छ भने स्वास्थ्य मन्त्रालयमा तानिएका डा. सिंहले आजैबाट महानिर्देशकको जिम्मेवारी सम्हालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।स्वास्थ्यमन्त्री बिरोध खतिवडा भएपछि शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट डा. सिंहले पुनः महानिर्देशकको जिम्मेवारी पाउनुभएको हो। रातोपाटीबाट