
पोखरा । गण्डकी प्रदेश सरकारले नेपाली सेना र सशस्त्र प्रहरी बललाई विपद उद्धार सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । विभिन्न समयमा आइपर्ने विपत्तीमा सुरक्षाकर्मी नै पहिला खटिनुपर्ने र उनीहरुलाई स्रोत साधनयुक्त बनाउन सके क्षति कम हुने उद्देश्यका साथ प्रदेश सरकारले सोमबार पोखरामा सामग्री हस्तान्तरण गरेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली सेनाको मध्यकमाण्ड प्रमुख उपरथि विनय विक्रम राणा र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका बाहिनीपति शम्भु सुवेदीलाई विपद उद्धार सामग्री हस्तान्तरण गरेका हुन् । ती सामग्रीको खरिद मूल्य करिब ८० लाख रुपैयाँ छ ।
कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरक्षा र विपद व्यवस्थापन नेपाली सेना र सशस्त्र प्रहरीको मुख्य दायित्व भएकाले ती निकायलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार हरसम्भव प्रयासरत रहेको बताए । उनले भने, ‘प्रदेशको क्षमता अनुसार हामीले सुरक्षा निकायलाई स्रोतसाधनयुक्त बनाउने प्रयासमा छौं ।’
मुलुकमा विभिन्न समयमा आइपर्ने विपत्तिमा जहिल्यै अगाडि खट्ने सुरक्षाकर्मीप्रति जहिल्यै सम्मान व्यक्त गर्नुपर्ने भन्दै उनले कोभिड महामारीका बेलामा समेत सुरक्षाकर्मीहरु अग्रपंक्तिमा खटिएको स्मरण गरे । नेपाल मात्र नभएर विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि समेत नेपाली सुरक्षाकर्मीको भूमिका उल्लेखनीय रहेको चर्चा गरे ।
गण्डकी प्रदेश सरकारका बिना विभागीय मन्त्री डोवाटे विश्वकर्माले सीमा सुरक्षा सहित कानुन कार्यान्यन र विपद व्यवस्थापनमा सुरक्षाकर्मीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले गण्डकी प्रदेश सरकारले बर्खा अगावै यी सामग्री हस्तान्तरण गर्न चाहेको भए पनि खरिद प्रक्रियामा केही ढिलाइ भएको बताए । जतिखेरसुकै आइपर्ने विपदबाट हुने जनधनको क्षति कम गराउनका लागि यी सामग्री उपयोगी सिद्ध हुने भनाई उनको थियो ।
भूकम्प, आगलागी, बाढी पहिरो, सडक दुर्घटना, खोंचहरुमा हुने दुर्घटनाबाट बचाउन प्रयोग गरिने १६ प्रकारका १ सय ८० थान सामग्रीहरु हस्तान्तरण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव मुक्तिनारायण भण्डारीले बताए । कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य लगायत सहभागी थिए ।