संसदीय टोलीले गर्‍यो कर्णाली करिडोरको अनुगमन

सुर्खेत । संघीय संसद्को विकास तथा प्रविधि समितिले कर्णाली करिडोरको अनुगमन गरेको छ । निमार्णाधिन कर्णाली करिडोरको हुम्ला सिमकोटदेखि सलीसल्ला खण्डको हेलिकोप्टरमार्फत बिहीबार अनुगमन गरेको हो ।

अनुगमन टोलीमा समितिका सभापति कल्याणी गुरुङ खड्काको नेतृत्वमा सदस्यहरू रंगमति शाही, यज्ञबहादुर सुनुवारलगायत थिए । उहाँहरूले नेपाली सेनाको हेलिकोप्टरमार्फत अनुगमन गर्नुभएको हो ।

कर्णाली करिडोरको हुम्ला खण्ड निर्माण भइरहेको छ । हुम्ला खण्ड नेपाली सेना र हिल्सा सिमकोट सडक आयोजनाले निर्माण गरिरहेको छ । करिडोर निर्माण प्रगतिको अवस्था बुझ्न अनुगमन गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । ‘कर्णाली करिडोरको निर्माण अवस्था र भइरहेको काम बारे समितिले निरीक्षण गरेको छ,’ उहाँले भन्नुभयो, ‘अनुगमन समितिमा सांसद, सचिवालयका कर्मचारी र नेपाली सेनाका उच्च अधिकारी थिए ।’

सडक निर्माण सुस्त भएको गुनासो आएपछि संसदीय समितिले चासो देखाएको र कामलाई तिव्रता दिन संसदीय समितिले निर्देशन दिने समितिका सदस्य रंगमति शाहीले बताउनुभयो । ‘हुम्लाको हिल्सा, लिमी, लाप्चा क्षेत्रको सडक निर्माणको अवस्था र बाँदरठेलामा सलीसल्लासम्म सडकको अवस्था बुझ्ने काम भएको छ,’ उहाँले भन्नुभयो, ‘चंखेली गाउँपालिकाको लोती खोलामा निर्माण हुन लागेको पुल र हुम्ला खण्ड करिडोरमा पर्ने साना ठूला १८ वटा पक्की पुल निर्माण प्रगतिबारे पनि जानकारी लिएको छ ।’ समितिले महाकाली करिडोरको निर्माण अवस्था बारे जानकारी लिने उल्लेख छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार