नेपाली श्रमिक लैजान मलेसियाको नयाँ मापदण्ड

काठमाडौँ । नेपालीसहित विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँगै मलेसियाले नयाँ मापदण्ड बनाउँदै मंगलबार विदेशी श्रमिक ल्याउने घोषणा गरेको हो ।

काठमाडौंस्थित मलेसियन दूतावासका अनुसार मलेसियाको मानव संसाधन मन्त्रालयले प्रस्ताव गरेअनुसार सरकारले विशेष मापदण्ड (एसओपी) पारित गरेको हो । नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फाजिल अबु हसनले एसओपी पारित भइसकेकाले नेपालबाट श्रमिक लैजाने बाटो खुलेको बताउनुभयो।

‘मलेसियाले नयाँ विदेशी श्रमिक लैजाने भने पनि एसओपी पारित नभएकाले भर्ना प्रक्रिया अगाडि बढेको थिएन । अब कसरी श्रमिक ल्याउने भन्ने विषयमा प्रस्ट खाका बनिसकेको छ,’ उहाँले भन्नुभयो । मलेसियाले नेपाल र इन्डोनेसियाबाट ३० हजार श्रमिक भर्ना गर्ने निर्णय गरिसकेको छ । ‘जुन–जुन क्षेत्रमा श्रमिकको अभाव छ, ती क्षेत्रमा लैजाने हो । नेपालबाट सुरक्षा गार्डमा पनि जान पाइनेछ,’ कार्यवाहक राजदूत हसनले भन्नुभयो, ‘तर यसका केही सर्त छन् ।

तत्कालका लागि तोकिएका सबै क्षेत्रमा जाने श्रमिकका लागि एसओपी लागू हुन्छ ।’ उहाँका अनुसार श्रमिक भर्नाका लागि कोटा लिन प्रत्येक रोजगारदाता कम्पनीले कोभिड व्यवस्थापनसम्बन्धी विशेष समितिबाट अनुमति लिनुपर्ने हुन्छ । एसओपीअनुसार मलेसिया जाने श्रमिकले नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त कोभिड खोप लगाएको हुनुपर्नेछ । मलेसिया प्रस्थान हुनुभन्दा ७२ घण्टाभित्र श्रमिकले पीसीआर परीक्षण गर्नुपर्छ ।

मलेसिया पुगेपछि ७ दिन अनिवार्य स्वास्थ्य मन्त्रालयबाट तोकिएको क्वारेन्टाइनमा बस्नुपर्नेछ । केलाङ क्षेत्रलाई क्वारेन्टाइनका लागि छुट्याइएको छ । क्वारेन्टाइनमा राखिएको दोस्रो र पाँचौं दिनमा पीसीआर परीक्षण गरिनेछ । कोभिड संक्रमण भएमा निजी क्वारेन्टाइन वा न्यून जोखिम उपचार सेन्टर (पीकेआरसी) मा राखिनेछ भने गम्भीर भएमा निजी अस्पतालमा पठाइनेछ । यसको सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने कार्यवाहक राजदूत हसनले बताउनुभयो ।

मलेसियाले ‘दीर्घकालीन पास’ भएका आप्रवासी श्रमिक आउन पाउनेबारे बिहीबार अर्को निर्णय गरेको छ । महामारी व्यवस्थापनका लागि विशेष समितिको ६० औं बैठकको निर्णयअनुसार आवासीय भिसा भएका श्रमिकलाई प्रवेश दिइने निर्णय भएको हो । जसमा घरेलु श्रमिक (हाउसमेड) समेत परेका छन् ।मलेसियाबीच भएको द्विपक्षीय श्रम सम्झौतालाई कार्यान्वयन गर्न नेपालले मलेसियालाई प्राविधिक समितिको बैठक बस्न प्रस्ताव गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजित आबुधाबी डायलगको साइडलाइन बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले मलेसियाका समकक्षीसमक्ष यस्तो प्रस्ताव राखेका हुन् । श्रम सम्झौतामा नेपाल र मलेसियाबीच आवश्यकताअनुसार द्विपक्षीय अधिकारीहरूको बैठक बस्ने उल्लेख छ ।

‘मलेसियाको सामाजिक सुरक्षा (सोस्को) मा श्रमिकलाई दिनुपर्ने दायरा अझै बढाउन आवश्यक छ । मृतक नेपालीका परिवारले पाउने क्षतिपूर्तिलगायतका विषयमा छलफल गर्न बैठक गर्न प्रस्ताव गरिएको हो,’ बैठकमा सहभागी श्रम उपसचिव थानेश्वर भुसालले भन्नुभयो । मलेसियाले शून्य लागतमा श्रमिक भर्ना गर्न नेपालसँग श्रम सम्झौता गरेको थियो । बैठकमा नेपाली श्रमिकको मृत्युदर बढेकाले उनीहरूका परिवारले पाउने क्षतिपूर्तिबारे पनि कुरा उठाइएको थियो । पछिल्लो समय लेसियामा नेपाली श्रमिकको मृत्यु अस्वाभाविक रूपमा भएको भन्दै मलेसियाको मानव अधिकार आयोग (सुहाकाम) ले समेत चासो देखाएको छ ।ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार