
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माग अनुसार विद्युत् दिन कुनै समस्या नरहेको बताउनुभएको छ ।प्राधिकरणले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मागअनुसार विद्युत् दिन कुनै समस्या नरहेको बताउनुभएको हो ।
तिहारमा १ हजार ५ सय मेगावाटभन्दा बढी खपत नहुने अनुमान रहेको बताउनुभयो। यसमा सरप्लस (चाहिएभन्दा बढी) नै उत्पादन रहेको घिसिङको भनाइ छ । उहाँका अनुसार अहिले २ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ ।“यो वर्षको भदौतिरको समयमा सबैभन्दा धेरै १ हजार ६२० मेगावाट डिमान्ड (माग) रहेको थियो । तिहारमा त्योभन्दा पनि कम रहने अनुमान रहेको छ,” घिसिङले भन्नुभयो,“विद्युत्को माग जति आएपनि हामी तिहारमा उपभोक्तालाई बिजुली दिन्छौँ । ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु प्रयोग गर्नुहोस् ।”
अब विद्युत् खपत नै बढाउने सरकार र प्राधिकरणको नीति रहेको समेत उहाँले जानकारी दिनुभयो । कार्यकारी निर्देशक घिसिङले बेला–बेलामा बत्ती गइरहे पनि यसलाई लोडसेडिङका रुपमा नलिन आग्रह गर्नुभयो । विभिन्न कारणले अहिले बत्ती गइरहनुको कारण सडक विभागको काम कारबाही, खानेपानीको कामकारबाही जोडिएको बताउनुभयो । सडकमा काम हुँदा तथा पोल नै सार्नुपर्दा पनि गइरहेको उहाँको भनाइ थियो । त्यस्तै, उहाँले भारतमा चर्किएको ऊर्जा संकटका कारण हिउँदमा समस्या पर्ने भन्ने बजारको हल्लामा पनि सत्यता नरहेको बताउनुभयो । नागरिक खबरबाट