हिमाली जडीबुटी कुट्कीको अनुसन्धान सुरु

काठमाडौँ । नेपालसहित, भारत, चीन, भुटान र पाकिस्तानमा पाइने हिमाली जडीबुटी कुट्कीको अनुसन्धान सुरु भएको छ । ३ हजार ५ सयदेखि ४ हजार ५ सय मिटर उचाइसम्म पाइने यो वनस्पतिको खुम्बु क्षेत्रबाट नमुना संकलन गरेर फैलावट, फाइटो केमेस्ट्री, टिस्यु कल्चर र इथ्नोबोटानिकललगायत विषयमा नेपालका वनस्पतिविद्ले अनुसन्धान थालेका हुन् ।

कुट्की मधुमेह र कलेजोका बिरामीका अलावा रुघाखोकी लाग्दा, ज्वरो आउँदा, आउँमासी पर्दा प्रयोग हुन्छ ।अनुसन्धानमा त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. सुरेश घिमिरेको नेतृत्वमा प्राध्यापक हरिदत्त भट्टराई, उपप्राध्यापकद्वय डा. नारायण घिमिरे र डा. मुक्तिराम पौडेल संलग्न हुनुहुन्छ।

खुम्बु क्षेत्रमा कुट्कीको अवस्था, यसको प्रयोग, औषधीय गुणका सम्बन्धमा अनुसन्धान सुरु गरिएको उपप्राध्यापक डा. घिमिरेले बताउनुभयो । अनुसन्धानमा विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको छ । जमिनभित्रै फैलने कुट्की उपयुक्त लागेको स्थानबाट जमिनमाथि पनि फैलन्छ । यही कारण यसलाई ‘गुरिल्ला वनस्पति’ भनिने उपप्राध्यापक डा. पौडेलले बताउनुभयो । हिउँ पर्ने क्षेत्रमा पाइने भएकाले केही स्थानमा यो वनस्पतिको माथिल्लो भागलाई हिउँले ढाकेको हुन्छ । बीउ र जरा दुवैमार्फत यसको विस्तार हुन्छ । यसको स्वाद तीतो हुने डा. पौडेलले बताउनुभयो ।

उच्च हिमाली क्षेत्रका बासिन्दाले पुस्तौंदेखि प्रयोग गर्दै आएको कुट्कीमा पाइने रसायन र त्यसको गुणबारे ‘फाइटो केमिकल’ अध्ययन गर्न लागिएको सहप्राध्यापक डा. भट्टराईले बताउनुभयो। ‘मधुमेहलगायत रोगमा यसको प्रयोग हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘यसमा पाइने रासायनिक तत्त्वलाई वर्गीकरण गरेर रोग निदानमा उपयोग हुने रसायन छरछैन भन्नेमा हाम्रो अनुसन्धान केन्द्रित हुनेछ ।’ यो अनुसन्धानबाट व्यावसायिक रूपमा औषधि उत्पादन सम्भव छरछैन भन्ने पनि खुल्ने उहाँले बताउनुभयो।

अनुसन्धानका क्रममा कुट्कीको नेपालमै पहिलो पटक टिस्यु कल्चरसमेत गर्न लागिएको छ । टिस्यु कल्चर गर्दा जिन संरक्षण हुने र संकलन गर्न त्यही क्षेत्र जानुपर्ने बाध्यता हट्ने अध्ययन टोलीको बुझाइ छ ।कुट्कीलाई नेपाल सरकारले ‘हिमाली क्षेत्रमा पाइने ३० महत्त्वपूर्ण र अनुसन्धान गर्नुपर्ने जडीबुटी’ को सूचीमा राखेको छ । तर यसको विस्तृत अध्ययन तथा अनुसन्धान भएको छैन । हिमालय क्षेत्रमा पाइने जडीबुटीहरू धेरै मात्रामा निकासी हुने र औषधीय निर्माणमा प्रयोग हुने गरेका छन् ।

त्यही अनुपातमा कुट्कीको पनि संकलन र बिक्रीवितरण हुने गरेको छ । वनस्पति विभागको तथ्यांकअनुसार नेपालमा ६ सयभन्दा बढी जडीबुटीको संकलन तथा निकासी हुने गरेको छ । यस्ता जडीबुटी दम, जन्डिस, ज्वरो, रुघाखोकी, दुखाइ कम गर्ने, कलेजोमा हुने समस्या निवारणका लागि प्रयोग हुँदै आए पनि तिनको बृहत् अनुसन्धान र औषधि निर्माणको सवालमा थोरै मात्र काम भएको छ । अनुसन्धानकर्ताहरूले पूर्वी हिमाली क्षेत्रमा कुट्कीको अवस्था राम्रो भएको बताएका छन् ।

गोक्यो हिमतालको वरिपरि यी वनस्पति अहिले पनि राम्रोसँगै फैलिएको उपप्राध्यापकद्वय डा. घिमिरेले बताएउनुभयो। सामान्यतया ३५ सय मिटर उचाइमा पाइने यो वनस्पति अनुसन्धानकर्ताको टोलीले खुम्बु क्षेत्रमा ४ हजार मिटर उचाइमा भेटेको छ । उनीहरूले ‘जलवायु परिवर्तनको कारण’ ले कुट्कीलाई असर गरेको हुन सक्ने आशंका गरेका छन् । अनुसन्धानकर्ता कुशल केसीले भन्नुभयो, ‘गोक्यो क्षेत्र पुग्दा यसलाई ४ हजार मिटरको उचाइमा मात्रै रेकर्ड गर्न सक्यौं । जलवायु परिवर्तनको प्रभाव हो वा होइन, त्यसका लागि थप अनुसन्धानको खाँचो पर्छ ।’ हिमाली क्षेत्रको ओसिलो ठाउँमा पाइने यो वनस्पतिको कतिपय ठाउँहरूमा ‘इकोलोजिकल सर्भे’ गर्नुपर्ने केसीले बताउनुभयो।

कुट्कीलाई पुस्तौंदेखि खुम्बु क्षेत्रका शेर्पाहरूले ज्वरो, रुघा, उच्च रक्तचाप, आउँमासी र मधुमेहजस्ता स्वास्थ्य समस्यामा प्रयोग गर्दै आएको अर्की अनुसन्धानकर्ता आरती गुरुङले बताउनुभयो । उहाँका अनुसार दुई दशकअघिसम्म खुम्बु क्षेत्रका मानिस यसको संकलन गर्थे । ुपर्यटन व्यवसायमा लागेपछि उनीहरूले संकलन गर्न छाडेको पाइयो,’ उहाँले भन्नुभयो, ‘तर कोरोना महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएपछि पुनः जडीबुटी संकलनतर्फ आकर्षित भएको देखिन्छ ।’ पश्चिमी हिमाली भेगमा वनस्पतिको संकलन धेरै हुने भएकाले अन्य जडीबुटीसँगै कुट्कीको निकासी पनि बढी हुने गरेको पाइएको छ । वनस्पति विभागका अनुसार कर्णाली क्षेत्रबाट सबैभन्दा धेरै जडीबुटी निकासी हुन्छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार