अमेरिकी पत्रकार डेनीलाई म्यानमारमा ११ वर्षको जेल सजाय

एजेन्सी । म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेनाविरुद्धको असन्तोषलाई प्रोत्साहित गरेकोमा दोषी पाइएको छ ।​ यसैहप्ता उनीमाथि देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग पनि लगाइएको छ । यी नयाँ मामिलामा अधिकतम सजाय आजीवन कारावास नै हो । नयाँ आरोपबारे निर्णय आएको छैन ।

फेनस्टर अनलाइन न्यूज पोर्टल फ्रन्टियर म्यानमारका प्रबन्ध सम्पादक हुन् उनलाई मेमा याङ्गुन अन्तरराष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो ।​ फेनस्टरजस्तै अरु पत्रकार पनि छन् जसलाई यसै वर्ष सैन्य कूपछि हिरासतमा लिइएको छ ।फ्रन्टियरका अनुसार फेनस्टर यसअघि स्वतन्त्र समाचार साइट म्यानमार नाउमा काम गर्दथे । यी आरोप त्यतिबेलाको उनको कामका कारण नै लगाइएको थियो ।​

फ्रन्टियरले आफ्नो बयानमा भनेको छ, ‘उनी प्रतिबन्धित मिडिया हाउस म्यानमार नाउका लागि काम गर्दथे भन्ने कुरालाई आधार बनाएर यी सबै अभियोग लगाइएको हो ।डेनीले जुलाई २०२० मा म्यानमार नाउबाट राजिनामा दिएका थिए र त्यसको अर्को वर्ष उनले फ्रन्टियरमा जागिर खाएका थिए । मे सन् २०२१ मा गिरफ्तारीका बेला उनी ९ महिनादेखि हामीसँगै काम गरिरहेका थिए । उनलाई यो अभियोगमा दोषी पाइनु निराधार हो ।’

अमेरिका फेनस्टरको रिहाईको कोसिस गर्दै आएको छ । म्यानमारमा अमेरिकी दुतावासले यसबारे हाल कुनै प्रतिक्रिया दिएको छैन । म्यानमारको सत्तारुढ सैन्य परिषद्ले पनि कुनै बयान जारी गरेको छैन ।फेब्रुअरी सन् २०२१ मा सैन्य कूपछि म्यानमारको स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको छ । पूर्व सरकारकी नेता आङ सान सूचीसमेत ठूला नेता जेलमा छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार