
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनयुद्ध कुनै लहडमा नभएको बताउनुभएको छ । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा विप्लव समूहका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै उहाँले भन्नुभयो,“कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन ।”
उहाँले एक्लाएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा रहेको बताउनुभयो । प्रचण्डले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“किरणको अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लवको बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।”ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास प्रचण्डको थियो ।
उहाँले अगाडि थपे,“छुट्टै बसेर भन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतले क्षतविक्षत हुने बाहेक अरु विकल्प छैन ।” उहाँले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताउँदै माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको बताउनुभयो । “प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धिहरु उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्,” उहाँले भन्नुभयो ।
“प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माको त होइन, नेपाली जनताले जन्माएको थियो । तपाईं हामीले सबै लडेर निर्माण गरेको हो नि प्रचण्ड भन्ने व्यक्ति होइन । फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन,” उहाँले भन्नुभयो,“थुप्रै मार्क्स, लेलिन र माओ हुँदैनन् एउटा समय र एउटा कालमा । जनता, आन्दोलन, संघर्ष, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो । सही निर्णयहरुले पैदा गर्ने हो । यसलाई वर्ग संघर्षको रुपमा प्रतिक्रियावादीहरुले सिध्याउन खोज्छन् । जनताले त्यसलाई बचाउन खोज्छन् ।” नागरिक खबरबाट