तलब नपाएपछि कर्मचारीद्वारा सर्केगाड गाउँपालिकामा ताला

सिमकोट । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आइतबारदेखि ताला लागइएको छ । बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीको गाउँपालिकाले तलब नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् ।

गाउँपालिका बाल विकास सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकादेखि ताला लगाइएको प्रगति प्राविका सहकर्ता रुप्सी छत्यालले बताउनुभयो । सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालले बताउनुभयो ।

जिल्लाका अधिकांश गाउँपालिकाले आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी बाल विकासका सहजकर्ता र विद्यालयका कर्मचारीलाई तलबको व्यवस्था गरेको अवस्थामा सर्केगाडले उक्त व्यवस्था नगरेकाले दबाब दिन कठोर कदम चाल्नुपरेको दुधकुण्ड प्रावि रोडिकोटका बाल विकास सहजकर्ता हाँसबहादुर छत्यालले बताउनुभयो ।

सर्केगार्ड गाउँपालिकामा ३२ वटा विद्यालय छन् । जसमध्ये ४ वटा मावि र २८ वटा प्राथमिक तथा आधारभूत विद्यालय छन् । आधारभूत र प्राथमिक सबैमा बाल विकासका कक्षा सञ्चालन हुँदै आएका छन् । ३२ जना विद्यालय कर्मचारी र बाल विकास गरी ६० जना आन्दोलित भएका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार